काठमाडौं । दूधको उत्पादन बढ्ने सिजनमै अहिले दैनिक १ लाख लिटर दूध अपुग हुने गरेको छ ।
आन्तरिक बजारमा दूधको अभाव भएपछि सरकारले दुग्ध व्यवसायीको माग बमोजिम भारतबाट दूध आयातका लागि बाटो खोलेको थियो । तर भारतीय बजारबाट महँगो मूल्यमा खरीद गरेको दूध नेपाली बजारमा विक्री गर्न नसके नाफा नहुने भएकाले व्यवसायीले आयात गरेका छैनन् । बजार माग अनुरूप आपूर्ति नहुँदा अभाव सृजना भएको हो । नेपाली बजारमा हाल दैनिक ६ लाख लिटर दूध आपूर्ति भइरहेको छ । माग भने ७ लाख लिटर छ ।
कोरोना महामारीले दुग्ध उत्पादन क्षेत्रमा परेको प्रभावले हालसम्म पनि उत्पादनको अवस्थामा सुधार हुन नसकेको बताइएको छ । नेपाल डेरी संघका अनुसार मङ्सिरमा विवाह लगायत कारण दैनिक औसत १ लाख ५० हजार लिटरसम्म दूध अपुग भएको थियो । तर अहिले विवाहको सिजन नहुँदा पनि दैनिक १ लाख लिटर दूध अपुग भइरहेको संघका महासचिव हेमचन्द्र खनालले बताए । ‘भदौदेखि माघसम्म दूध उत्पादन बढ्ने र खपत घट्नुपर्ने हो,’ उनले भने, ‘उत्पादन बढ्ने महीनामै अभाव देखिएको छ, उत्पादन घट्ने समयमा अभाव झनै बढ्न सक्छ ।
’ माग र आपूर्ति सन्तुलनका लागि बाह्य मुलुकबाट आयात सहज बनाउनुपर्ने र आन्तरिक बजारमा दूधको मूल्य बढाउनुपर्ने उनले बताए । गत असोजमा आन्तरिक बजारमा दूधको अपुग भएको भन्दै दुग्ध उद्योगी तथा व्यवसायीले सरकारसँग यसको आयात खोल्न माग गरेका थिए । त्यतिबेला दूध उत्पादक किसानको विरोधकै बीच सरकारले आयात खुला गरेको थियो । आयात खुला गरे पनि भारतीय बजारमा दूध महँगो भएकाले व्यवसायीले ल्याउने आँट गरेनन् । महँगोमा ल्याएर नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्दा फाइदा नहुने भएकाले व्यवसायीले आयात नगरेका हुन् ।
भारतीय बजारमा अहिले दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ छ । नेपालमा भने प्रतिलिटर ६४ रुपैयाँ मात्र छ । पछिल्लो दुई वर्षदेखि नेपालमा दूधको मूल्य नबढ्दा किसान तथा उद्योगी दुवै मारमा परेको संघले बताएको छ । आन्तरिक बजारमा दूधको अभाव हुन नदिन माग र उत्पादनको यकिन तथ्यांक संकलन गरी नपुग दूध आयातमा सरकारले सहजीकरण गरिदिनुपर्ने संघले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।