मल नपाएका किसानलाई मौसमले साथ दिदा धान उत्पादन  ७ प्रतिशतले बढ्यो

Share News

काठमाडौं  । समयमा रासायनिक मल नपाएका किसाललाई यसपटक मौसमले साथ दिदा धान उत्पादन बढेको छ । यो वर्ष मुलुकमा धान उत्पादन करीब ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष नेपालमा ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान उत्पादन भएको हो ।

सातओटै प्रदेशको कृषिक्षेत्र हेर्ने मन्त्रालयबाट प्राप्त जिल्लास्तरीय धानखेतीको क्षेत्रफल तथा उत्पादन अनुमानका आधारमा कृषि तथ्यांक प्राविधिक समितिको सिफारिशमा मन्त्रालयले बिहीवार यसपालिको चैते र वर्षेधानको उत्पादन विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चैते र वर्षे गरी यस वर्ष नेपालमा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर जमीनमा धानखेती थियो । त्यसबाट ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन उत्पादन भएको छ । धानबाली लगाइएको क्षेत्रफल गतवर्षको तुलनामा २ प्रतिशतले घटे पनि समग्र उत्पादन भने ६ दशमलव ९४ प्रतिशतले बढेको मन्त्रालयले जानकारी दिएको छ ।

उत्पादकत्व पनि गतवर्षको तुलनामा प्रतिहेक्टर ३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनबाट ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

गतवर्ष कात्तिक पहिलो साताको देशव्यापी बेमौसमी वर्षाका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा करीब १ लाख हेक्टर जमीनको धानबाली नष्ट भएपछि समग्र उत्पादनमा ८ दशमलव ४७ प्रतिशतले कमी आएको थियो । उत्पादकत्व पनि ३ दशमलव ४७ प्रतिशतमा सीमित रहन पुगेको थियो । 

यसवर्ष मौसम औसत रहेको, ढिलै भए पनि तराईका जिल्लामा रासायनिक मलको राम्रो उपलब्धता रहेको र उन्नत तथा वर्णसंकर बीउको प्रयोग वृद्धि भएकाले उत्पादन बढेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन बढे पनि यसअघिका अन्य वर्षहरूको तुलनामा भने केही कम हो । तर, विगत वर्षहरूको तुलनामा पछिल्ला वर्षमा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि हुँदा किसानलाई रोग, कीरा व्यवस्थापनमा सहज भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विगत ७ वर्षको धान उत्पादनको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा उत्पादन भएको देखिन्छ । उक्त वर्ष नेपालमा कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनको खेतीबाट ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आवमा गतवर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करीब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।