काठमाडौं । धान, चामल र कनिकाको आयात ७ अर्ब ८४ करोड रुपैयाँले घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पछिल्लो ५ महीना (साउन–मङ्सिर) मा पोहोरको सोही अवधिको तुलनामा धान, चामल र कनिकाको आयात घटेको पाइएको हो । कृषिजन्य वस्तुको आन्तरिक उत्पादनमा वृद्धि र विश्व अर्थतन्त्रको प्रभावलाई आकलन गर्दै भारतले कृषि उपजको निर्यातमा कडाइ गरेपछि नेपालमा हुने आयात घटेको हो ।
आव २०७८/७९ को मङ्सिरसम्म नेपालले विभिन्न मुलुकबाट २० अर्ब ४९ करोड रुपैयाँ बराबरको ५ लाख ६ हजार मेट्रिक टन धान, चामल र कनिका आयात गरेको थियो । चालू आवको सोही अवधिमा १२ अर्ब ६५ करोड रुपैयाँको २ लाख ८२ हजार मेट्रिक टन आयात भएको तथ्यांक छ । यसपालिको आयात पोहोरको तुलनामा ३८ दशमलव २६ प्रतिशतले
कम हो ।
पछिल्ला वर्षमा नेपालमा धान, चामल आयात निरन्तर घट्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ । आव २०७७/७८ मा कुल ५० अर्ब ७८ करोड रुपैयाँको १३ लाख ३४ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएकोमा आव २०७८/७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको ११ लाख ३० हजार मेट्रिक टन मात्रै आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ दशमलव ३२ प्रतिशतले कम हो ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले विश्व अर्थतन्त्रको प्रभावका कारण विभिन्न मुलुकले धान, चामल निर्यातमा गरेको कडाइले नेपालमा धान, चामल तथा कनिका आयात घट्नुको एउटा प्रमुख कारण भएको बताए । नेपालले पनि केही समययता आयातमा कडाइ गरेको छ । आन्तरिक उत्पादन पनि केही बढेकाले आयात घटाउन मद्दत पुगेको उनले जानकारी दिए ।
नेपाल दाल चामल तथा तेल संघका उपाध्यक्ष नरेश राठीका अनुसार भारतले गत भदौमा कनिका निर्यातमा कडाइ गर्दा नेपाली व्यवसायीले त्यहाँबाट आयात गर्न पाएनन् । भारतले यस वर्ष धान उत्पादन घटेको भन्दै धान र चामल निकासीमा २० प्रतिशत शुल्क तोकेर कडाइ गरेको थियो । भारतले १ सय ७० ओटा देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशतसम्म कर लगाएपछि नेपालमा पनि त्यसको प्रभाव देखिएको उनको भनाइ छ । पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण विश्व बजारमा खाद्यान्न संकट आउन सक्ने प्रक्षेपण गर्दै भारतले अन्न भण्डारणका लागि यस्तो कदम चालेको अन्तरराष्ट्रिय
सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए । कतिपय व्यक्ति भने पछिल्लो समय चोरी पैठारीबाट चामल आयात हुन थालेकाले पहिलाको तुलनामा घटेको हुनसक्ने तर्क गर्छन् । नेपालले यस वर्ष आयात गरेको चामलमा सबैभन्दा बढी अंश (करीब २ अर्ब) बास्मती छ । सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनि करीब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ ।
एकजना व्यक्तिलाई १ वर्षका निम्ति चामल, मकै, गहुँ, कोदो र फापर गरी १ सय ८१ किलो आवश्यक पर्छ । त्यसमा चामलको उपभोग करीब १ सय २१ किलो प्रतिवर्ष हुने गर्छ । तर, नेपालमा भातको उपभोग बढी हुने भएकाले औसत प्रतिव्यक्ति प्रतिवर्ष १ सय ३७ किलो चामल उपभोग भइरहेको मन्त्रालयको भनाइ छ । नेपालमा करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने र त्यसबाट करीब ३५ लाख २० हजार मेट्रिक टन चामल तयार हुने मन्त्रालयको आकलन छ । यस हिसाबले नेपालमा वार्षिक करीब ४ लाख ८० हजार मेट्रिक टन चामल अपुग हुने देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।