नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न गरेका छन् ।
पार्टीका सांसदहरूका लागि शनिवारबाट संसद भवन नयाँ बानेश्वरमा शुरू भएको अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए ।
नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । उनले मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको भन्दै हिजो कमीकमजोरी गरेका साथीहरूले पनि अव त्यो कुरालाई नदोहोर्याउने दाबी गरे ।
माओवादीले काँग्रेस बोक्दा ३६ बाट १८ मा झरेको र २३ सिट जितेको काँग्रेसलाई ५७ सिट पुर्याई दिएको ओलीको आरोप छ । एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा एसले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेको स्मरण गर्दै ओलीले भने - 'आज उनै राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । अव जुरो हल्लाएर काम छैन । त्यसकारण सिंगौरी खेल्ने होइन, देश र जनताको निम्ति काम गरौं ।'
नेकपा एसको पोलिटव्यूरो स्थायी कमिटी बैठकले अहिलेको यो परिवर्तन ठिक छ भन्ने पनि फैसला गर्न नसकेको भन्दै ओलीले माधव नेपालको आलोचना गरेका छन् । एमालेसँग एकता गर्छु भन्ने एस पाए माओवादी केन्द्रसँग पनि एकता गर्छु, जसपासँग पनि एकता गर्छु भन्दै वार्ता गरिरहेको ओलीले आरोप लगाए । जसपा र एमालेलाई उस्तैउस्तै देख्नु अच्चम भएको पनि ओलीको भनाइ छ ।
जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता गरिरहेको भन्दै ओलीले नेपाललाई कटाक्ष गर्दै भने -'पाए काँग्रेससँग पनि लाग्ने । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ?'
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।