काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्सुरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
आँधिखोला लघुवित्तको नेप्सेले ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३६५ दशमलव ७७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू.१ हजार ७७५ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै नेको इन्सुरेन्स कम्पनीको नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ७७८ दशमलव ४३ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ८९५ दशमलव २० को आधारमा शेयर मूल्य समायोजन गरेको हो । यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि माघ ३ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
यी दुई कम्पनीले वितरण गर्ने लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्ने भएका छन् । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण आज माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ । सोही कारण आज शेयर कारोबार पनि बन्द रहेको छ । यसअघि माघ १ गते आइतवार माघेसंक्रान्ति पर्व परेकोले त्यस दिन पनि सार्वजनिक बिदा थियो ।
यी दुवै कम्पनीले माघ ३ गते मंगलवार साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने जनाएका थिए । बुक क्लोजको अघिल्लो दिनसम्म शेयर खरीद गर्ने शेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् तर अहिले शेयर बजार पुस २९ गतेदेखि बन्द रहेको छ । सोही कारण पुस २८ गतेसम्म कायम यी कम्पनीका शेयरधनी मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १३ गते साधारण सभा बोलाएको छ । सभा होटल गाउँबेसीको सभाहल वालिङ-८, स्याङ्जामा बिहान ११ः३० बजे शुरू हुने जानकारी दिइएको छ ।
त्यसैगरी नेको इन्सुरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १५ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।