नयाँदिल्ली(भारत) । भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकीले भारतीय बजारमा रहेका १७ हजारभन्दा बढी गाडीमा केहि प्राविधिक समस्या रहेको भन्दै फिर्ता बोलाएको घोषणा गरेको छ ।
एयरब्यागमा समस्या देखिएपछि कम्पनीले भारतका विभिन्न सोरुममा रहेका र विक्री समेतभइसकेका १७ हजार ३६२ थान विभिन्न मोडलका गाडी फिर्ता गर्न भनेको छ।
भारतीय सञ्चारमाध्यम बिजनेश स्ट्याण्डर्डले सुजुकीको अल्टो के- १०, एस- प्रेस्को, ईइको, ब्रेजा, बलेनो र ग्रान्ड भिटरा गरी ६ प्रकारका मोडलका गाडीहरूको एयरब्याग कन्ट्रोलरमा समस्या देखिएको भन्दै आफ्नो वेबसाइटमा समाचार छापेको छ। साथै समाचारमा सन् २०२२ डिसेम्बर ८ देखि सन् २०२३ को जनवरी १२ मा तयार भएका ती सवारीसाधानको एयरब्यागमा समस्या देखिएको उल्लेख छ ।
कम्पनीले बुधवार जारी गरेको एउटा नोटमा,‘१७ हजार ३६२ थान गाडीलाई कम्पनीमा फिर्ता बोलाएका छौं। ती गाडीहरूको एयरब्याग कन्ट्रोलरमा समस्या आउने देखेपछि फिर्ता बोलाएका हौं। हामी आवश्यकता अनुसार जाँच गरी सामग्री परिवर्तन गर्नेछौं’, भनिएको छ ।
कम्पनीले आवश्यकता अनुसार निःशुल्क जाँच गरी एयरब्याग कन्ट्रोलर समेत परिवर्तन गरिदिने बताएको छ। साथै कम्पनीले ती मोडलका सवारीकोे प्रभावित हिस्सामा खराबीको आशंका रहेको छ जसले गर्दा सवारी दुर्घटनाको स्थितिमा एयरब्याग तथा सिटबेल्टले ठीक ढंगले काम गर्ने गरेको छैन भनेको छ ।
कम्पनीले यस्ता सवारीसाधान प्रयोग गरिरहेका ग्राहकलाई प्रभावित हिस्साको परिवर्तन नगरुन्जेलसम्मका लागि सवारी चलाउँदा सावधानी अपनाउन भनेको छ । एजेन्सीहरु
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।