महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँडेका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरीद गरेका छन् ।
पौने दुई बिघा बगरमा लौकी, काँक्रा, फर्सीलगायत तरकारी उत्पादन गरी गाउँमै बिक्रीवितरण गरिरहेका चौधरीले वार्षिक रू. साढे ३ लाख बचत गर्छन् । ‘सबै खर्च कटाएर आम्दानी रू. साढे ३ लाखजति हुन्छ, बगरको कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुगेको छ,’ उनले भने ।
चान्देउका सुदराम जस्तै यहाँका २० जना राना र चौधरी थारू समुदायका स्थानीयले ‘एकजुट बगरखेती किसान समूह’ नै बनाएर बगरमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
‘समूहमा मासिक रू. ५० का दरले बचत पनि गर्छौं,’ चौधरीले भने, ‘बचत रकम मलखाद खरीद गर्नेदेखि आयमूलक कामका लागि लगानी गरिन्छ ।’ बगरमा तरकारी खेती गर्न थालेपछि मजदुरीका लागि भारतलगायत अन्यत्र जाने बाध्यता हटेको किसानहरू बताउँछन् । बजारीकरणका लागि सरोकारवाला निकायबाट सहयोग भएमा उत्पादनमा समेत वृद्धि हुने उनीहरूको भनाइ छ ।
स्थानीय रामदयाल रानाले पनि एक बिघामा बगरखेती गरेर घरखर्च चलाउन थालेको चार वर्ष भयो । ‘कृषि ज्ञान केन्द्र, पालिका र दातृ निकायबाट बिउबीजन सहयोग भएको छ तर बजारीकरणमा भने समस्या छ,’ रानाले भने ।
महेन्द्रनगर, धनगढी, अत्तरियालगायत बजारमा उत्पादित तरकारी लैजान सवारी साधनको समस्या रहेको उनले बताए । बजारसम्म तरकारी लैजाने साधन कहीँबाट अनुदानमा पाए उत्पादन अझ वृद्धि गर्न सकिने उनको भनाइ छ ।कृषि ज्ञान केन्द्र कञ्चनपुरले बगर खेती गर्ने किसानलाई बीउबीजनलगायत सहयोग गर्दै आएकामा यस वर्ष भने अनुदान सहयोग कार्यक्रम नभएको जनाएको छ ।
महेन्द्रनगरस्थित नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) ले बगरमा खेती गर्ने किसानलाई बिउबीजन एवं प्राविधिक सहयोग गर्दै आएको छ ।
एनएनएसडब्लूए उत्थान परियोजनाका संयोजक विनोद विक्रम जैरूले न्यून आयस्रोत समुदायलाई सहयोग गर्दै आएको बताए । उनले यसपटक सोलारबाट सिँचाइका लागि पनि व्यवस्था गरिने बताए । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।