काठमाडौं । राजधानी रहेको काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि झोलुङ्गे पुल छिटो निर्माणको माग गर्दै ‘सस्पेन्सन ब्रिज डिभिजन’ कार्यालय धाउन थालेका छन् ।
काठमाडौंम हानगरपालिका–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठसहित वडा सदस्य चन्द्रमान डङ्गोल, दिनेशमान जोशी, रेणुकमल शाही र रञ्जिता परियार पुल माग गर्न डिभिजनको कार्यालय पुल्चोक पुगेका छन् । महानगरपालिकाको बीचमा पर्ने कङ्केश्वरी मन्दिरस्थित विष्णुमती नदीमाथिको करीब दुई सय वर्षअघि बनेको पुल लच्केर करिडोरको सडकमा गुड्ने सवारी छुन थालेपछि दुई महीनाअघि निकालिएको थियो ।
सवारीसाधनले लच्किएको पुलमा ठोक्किएर दुर्घटना हुने जोखिम बढेपछि पुल निकालिएको हो । यस बीचमा विसं २०७४ देखि सात पटकसम्म वडा कार्यालयले पुल मर्मत गरेर सञ्चालन गरेको वडा सदस्य डङ्गोलले बताए । पटक–पटक मर्मत गर्दा पनि पुल लच्किन नछाडेपछि नयाँ पुल नआए पनि पुरानो पुल झिक्न बाध्य हुनुपरेको जनप्रतिनिधिको भनाइ छ ।
पुल निकालेपछि स्थानीयवासीलाई विष्णुमती आवतजावत गर्न असहज भएका कारण छिटो निर्माणको माग गर्दै डिभिजन धाउनुपरेको जनप्रतिनिधिहरूले बताए । पटक–पटक पुल लच्किएपछि गत वर्ष नै डिभिजनले नयाँ पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । कर्चेन कन्स्ट्रक्सन काठमाडौंले पुल निर्माणको ठेक्का पाएको जनाइएको छ । हाल स्थलगतरूपमा कुनै काम नभए पनि फलामको काम कारखानामा सकिएको जानकारी डिभिजनमा निर्माण व्यवसायी कम्पनीले गरेको पनि वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पुल निर्माणमा समय लाग्दा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू क्षेत्र आवतजावत गर्ने पर्यटकका लागि पनि असहज भएको छ । यस क्षेत्रका व्यापार व्यवसाय पनि ठप्प भएको स्थानीय व्यवसायी रणबहादुर श्रेष्ठको गुनासो छ । झोलुङ्गे पुल निर्माण गर्ने जनशक्ति कम भएकाले पनि निर्माण कम्पनीलाई पुल बनाउन समय लागेको हो । आगामी घोडेजात्रामा यस क्षेत्रमा कङ्केश्वरीको भव्य जात्रा हुन्छ । त्यसबेलासम्म पुल बनाइसक्न स्थानीवासीले माग गरेका छन् ।
करीब दुई सय वर्षअघि यो पुल निर्माण गर्दा काठैकाठबाट पुल निर्माण गरिएको बाबुबाजेबाट सुनेको जानकारी पनि वडाध्यक्ष श्रेष्ठले दिए । असनका अष्टनारायण र पञ्चनारायण मानन्धरले निजी लगानीमा काठे पुल निर्माण गरिदिएको अग्रज स्थानीयहरू बताउँछन् । विसं २०४२ सम्म त्यो पुलको स्वामित्व पनि मानन्धर गुठीसँग नै रहेको थियो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।