किमाथांका । संखुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ ।
निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रुख काट्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त संख्यामा रुख काटिएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि संखुवासभाका १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख डा. इन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका छ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै ५ हजार ४०० रुख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ ।
अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधक्षेत्र र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३ दशमलव २२ हेक्टरका रुख काटिसकिएको निर्माण कम्पनी सतलजले जनाएको छ । अरुण तेस्रो परियोजनाले संखुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ ।
कटान भएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताले प्रयोग गर्न पाउने व्यवस्था छ । अरुण तेस्रो आयोजनास्थल बाँध क्षेत्र र विद्युत् गृह स्थल लगिने ३३ केभी प्रसारण लाइनका लागि थप ९९४ रुख कटान गरिएको छ । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था छ ।
प्रसारण लाइन विस्तारका लागि करिब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्ने सम्झौता भएको थियो । जलविद्युत् परियोजनाले रुख कटान गर्ने वन कार्यालयले जनाएको छ । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।