काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री पछि अब ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले पनि कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर सफ्वेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ०७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।