ज्योति विकास बैंक र अपि पावरको साधारण सभा आइतवार, लाभांशसहित यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं । आइतवार दुई कम्पनीको साधारण सभा हुँदैछ । ज्योति विकास बैंक र अपि पावर कम्पनीले आइतवार साधारण सभा आयोजना गर्न लागेका हुन् ।  

अपि पावर कम्पनी लिमिटेडले १९औं वार्षिक साधारण सभा गर्दैछ । सभा काठमाडौं, थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्ने छ । 

कम्पनीको हाल कायम चुक्तापूँजी रू.३ अर्ब ८४ करोड ४९ लाख १५ हजार छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशतको दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । 

यस्तै ज्योति विकास बैंक लिमिटेडले आइतवार १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौं, भद्रकालीस्थित त्रिभुवन आर्मी क्लबमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।  

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कूल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उल्लेखित प्रस्तावसँगै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुने छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।