खाद्यले लक्ष्यअनुसार धान किन्न सकेन

Share News

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान किन्न नसकेको पाइएको छ । ढिलो गरी  किन्ने कार्य शुरू गर्दा लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको कम्पनीको भनाइ छ ।

अधिकांश किसानले धान बेचिसकेपछि सरकारले समर्थन मूल्य तोकेको र खाद्यले पनि ढिलो गरी किन्न शुरू गरेकाले यस्तो समस्या आएको बताइएको छ ।

चालू आर्थिक वर्ष (आव) का लागि किसानबाट ३० हजार २ सय मेट्रिक टन धान किन्ने लक्ष्य लिएको कम्पनीले हालसम्म १५ हजार टन मात्रै किनेको छ । यस वर्ष कम्पनीले राजापुर, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, विराटनगर, बिर्तामोड, जनकपुर र लहानबाट धान किनेको छ । कतिपय स्थानमा फाट्टफुट्ट रूपमा किन्ने काम जारी रहे पनि केही स्थानमा धान आउन बन्द भएपछि खाद्यले धान किन्ने काम स्थगित नै गरिसकेको छ ।

खाद्यले लक्ष्यअनुरूप धान किन्न नसक्नुमा समर्थन मूल्य र किन्न ढिला शुरू हुनु प्रमुख कारण हुन् । अधिकांश किसानले धान विक्री गरेपछि सरकारले मोटा धानको मूल्य प्रतिक्वीन्टल २ हजार ९७६ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँ तोकेको थियो । समर्थन मूल्य तोकिएको लामो समयसम्म पनि खाद्यले बजेट निकासा नभएको भन्दै धान नकिन्दा किसानले देशव्यापी रूपमा आन्दोलन गर्नुपरेको थियो ।

खाद्यले भने किसानले खाद्यलाई भन्दा स्थानीय व्यापारीलाई बढी धान विक्री गरेका कारण धान किन्ने लक्ष्य प्राप्त गर्न नसकिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ढिलो मूल्य तोकिनु एउटा प्रमुख कारण भए पनि अधिकांश किसानले स्थानीय व्यापारीसँग गर्जो टार्नका लागि पहिले नै ऋण लिने गरेकाले व्यापारीलाई नै धान बेच्न बाध्य हुने बताउँछन् । ‘यसले गर्दा खाद्यमा धान कम आउने गरेको छ,’ उनले भने ।

चन्दका अनुसार लक्ष्यबमोजिम धान नकिनिनुको अर्को प्रमुख कारण कतिपय ठाउँमा न्यून गुणस्तरको धान आउनु हो । खाद्यले न्यून गुणस्तरको धान किनेको छैन ।
धान किन्न कम हुने देखिएपछि खाद्यले खाद्यान्न भण्डारणका लागि चामल किन्ने भएको छ । १ लाख ४२ हजार क्वीन्टल चामल किन्न कम्पनीले बोलपत्रसमेत आा≈वान गरिसकेको छ । लक्ष्यअनुसार धान किन्न नसकिएपछि चामल किन्न लागिएको कम्पनीका खरीद महाशाखा प्रमुख भीष्म न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कम्पनीले अरुवा, सोना मन्सुली, स्टिम जिरा मसिनो र मार्सीलगायत चामल किन्नेछ । कम्पनीले लहानबाट १५ हजार क्वीन्टल, विराटनगरबाट १० हजार क्वीन्टल, बिर्तामोडबाट ३ हजार क्वीन्टल, वीरगञ्जबाट २२ हजार क्वीन्टल, काठमाडौंबाट २० हजार ३ सय क्वीन्टल, नेपालगञ्जबाट २० हजार क्वीन्टल र भैरहवाबाट ७ हजार ८ सय क्वीन्टल चामल किन्ने भएको छ । त्यसै गरी तुलसीपुरबाट २ हजार, सुर्खेतबाट २० हजार १ सय र धनगढीबाट २२ हजार क्वीन्टल चामल किन्ने कम्पनीको योजना छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।