काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा माग भन्दा ८५ दशमलव ६८ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३३ बजेसम्ममा ६ लाख २२ हजार ७२० जना आवेदकले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणमा निष्कासन गरेको शेयरको ८५ दशमलव ६८ गुणा बढी आवेदन हो । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्रीखुला गरेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।
१ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा जारी हुने शेयरको छिटो अवधि फागुन २३ गतेसम्म रहेको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्री लम्बिने कम्पनीको भनाइ छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले फागुन २३ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।