काठमाडौं । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट अत्यन्त थोरै मात्रामा चूल्होको विक्री भएको पाइएको छ ।
कम्पनीको बागमती प्रादेशिक कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय थान इन्डक्शन चूल्हो विक्री भएको छ । कम्पनीले अहिले बागमती प्रदेशमा मात्रै इन्डक्शन चूल्हो विक्री गरिरहेको अधिकारीहरू बताउँछन् ।
नेपाल सरकारले २०७२ सालको भूकम्पको लगत्तै पछिबाट विद्युतीय चूल्हो प्रयोगलाई व्यापक बनाउन भन्दै अभियान थालेको थियो । त्यतिबेला एलपी ग्यासमा अत्यधिक भर पर्दा छिमेकी भारतबाट घोषित वा अघोषित रूपमा बारम्बार हुने नाकाबन्दीले अप्ठ्यारो पारेको, सिलिन्डर आयातमा ठूलो धनराशि बाहिरिएको, ग्यास सिलिन्डरको उच्च मूल्यले उपभोक्ता मारमा परेको जस्ता कारण इन्डक्शन चूल्हो प्रयोगमा जोड दिइएको थियो । यसको प्रयोगबाट स्वदेशमै उत्पादित बिजुलीले बजार पाउनुका साथै विदेशी मुद्रा जोगिने र उपभोक्ताले राहत पाउने सरकारको अपेक्षा थियो ।
तर, सरकारले अभियान शुरू गरेका यतिका वर्षसम्म पनि थोरै संख्यामा मात्रै विद्युतीय चूल्हो प्रयोगमा आउँदा अपेक्षित लक्ष्य प्राप्त हुन नसकेको जानकार बताउँछन् ।
ऊर्जाविद् जगन्नाथ श्रेष्ठले राज्य संयन्त्रमा इन्डक्शन चूल्हो प्रयोग बढाउने इच्छाशक्ति नै कमजोर रहेको बताए । ‘टाढाको कुरा छोडिदिउँ सिंहदरबारभित्रै सरकारले इन्डक्शन चूल्हो प्रयोग गराउन सकेको छैन । एलपी ग्यास प्रयोगमा प्रतिबन्ध लगाए पनि रोकिएको छैन । मुलुकको प्रमुख प्रशासनिक क्षेत्रमै यस्तो स्थिति भएपछि अन्यन्त्रको अवस्था के हुन्छ ?’ ऊर्जाविद् श्रेष्ठले भने ।
उनले इन्डक्शन चूल्होसम्बन्धी जानकारी र ज्ञानको पनि व्यापक अभाव रहेको बताए । सिंहदरबारभित्रका क्यान्टिन सञ्चालकहरूमा ठूलो परिमाणमा खाना पकाउन मिल्ने विद्युतीय चूल्हो हुन्छ भन्ने कुराको ज्ञानसमेत नभएको उनले बताए ।
सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवाली आफूहरूले ‘विद्युतीय चूल्हो राष्ट्रिय अभियान’मार्फत विगतमा यसबारे सर्वसाधारणलाई जानकारी दिने र फाइदाबारे बुझाउने काम गरेको बताउँछन् । त्यसको परिमाणस्वरूप पछि सरकारले गरीब, विपन्न एवं काठमाडौंमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई विद्युतीय चूल्हो उपलब्ध गराउने कार्यक्रम बनाएको उनको भनाइ छ । ज्ञवाली भन्छन्, ‘सरकारी पक्षबाट कार्यान्वयनमा गम्भीरता देखाइएन ।
कर्मचारीलाई पुरस्कार एवं दण्डको व्यवस्था नहुँदा उनीहरू निष्क्रिय भइदिए । यिनै कारणले इन्डक्शन चूल्होको व्यापक प्रयोग हुन नसकेको हो ।’ बिजुली आपूर्ति नियमित नहुँदा पनि सर्वसाधारणले निर्धक्क भएर विद्युतीय चूल्हो किन्न सक्ने स्थिति नरहेको अध्यक्ष ज्ञवालीले बताए ।
विद्युतीय चूल्होको कारोबार गरिरहेका निजीक्षेत्रका व्यापारी व्यवसायीहरू विद्युतीय चूल्हो आर्थिक हिसाबले उपभोक्ताका लागि धेरै फाइदाजनक भए पनि चेतना अभावमा खासै विक्री नभएको बताउँछन् । काठमाडौंको नयाँ बजारमा घरायसी विद्युतीय सामग्रीको कारोबार गर्ने राजेन्द्र थापाले सुरक्षाका दृष्टिले राम्रो हुँदाहुँदै पनि प्रयोग विधि र फाइदाबारे आम उपभोक्तासम्म जानकारी नपुगेको अनुभव आफूले गरेको बताए ।
आम उपभोक्ताको सानो तप्काको पहँुचमा मात्रै इन्डक्शन चूल्हो पुग्दा पनि सरकारी अधिकारीचाहिँ सन्तुष्ट देखिन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बाग्मती प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापाले खरीद गरेको सबै इन्डक्शन चूल्हो विक्री हुनु उपलब्धिमूलक रहेको बताइन् । ‘विक्री राम्रै भइरहेको छ । अहिलेसम्म कुनै कम्प्लेन पनि आएको छैन । अवस्था सन्तोषजनक छ,’ उनले भनिन् ।
कार्यालय प्रमुख थापाले उपभोक्तामा इन्डक्शन चूल्होप्रतिको चेतना बढ्दै गएको र धारणा सकारात्मक रहेकाले प्रयोग पनि विस्तारै बढ्दै जाने तर्क गरिन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।