कुमारी सुनौलो लगानी योजनाको इकाई  विक्री हुने अन्तिम दिन आज

Share News

काठमाडौं । गत चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कुमारी सुनौलो लगानी योजनाको इकाई आज अर्थात् चैत २३ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । 

योजना व्यवस्थापक कुमारी क्यापिटलले सञ्चालन गर्न लागेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ । 

क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।  लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् । 

यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो वर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँचदेखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् ।

उनले १० वर्षको अन्त्यसम्ममा योजनाको खुद सम्पत्ति मूल्य २७ रूपैयाँ ८६ पैसा पुग्ने प्रक्षेपण गरिएको समेत बताए । क्यापिटलले गरेको प्रतिफल प्रक्षेपणलाई आधार मान्दा १० वर्षमा लाभाशंसहित कुल २९६ दशमलव ६२ प्रतिशत प्रतिफल हुन आउने उनले बताए । 

खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुने छैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरीदविक्री गर्न सकिनेछ ।

 पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महीनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।