काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम मूल्यसहित निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा म्याद थप भएको छ ।
कम्पनीले असार २४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । छिटो अवधि साउन ७ गतेसम्म आईपीओ खरीदका लागि मागबमोजिम आवेदन नपरेपछि स्थानीयमा साउन १४ गतेसम्म विक्री खुला गरिने कम्पनीले जानकारी दिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आजसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ ।
आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।