काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रिमियम मूल्यसहित पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री थालेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने साउन ७ गतेसम्म आईपीओ विक्री गरिएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री खुला गरिएको छ, जसमा कास्की पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उपमहानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।
स्थानीयले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।