साउन सकियो, धान रोपाइँ सकिएन: उत्पादनमा प्रतिकूल असर पर्ने चिन्ता

Share News

काठमाडौं  । साउन महीना सकियो । तर, मुख्य खाद्यबाली धानको रोपाइँ सकिएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार साउन २६ सम्म मुलुकभर ८७ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । अघिल्लो वर्ष यस अवधिमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । साउनपछि धान रोपे पनि उत्पादकत्व राम्रो नहुने भएकाले उत्पादनमा असर पर्ने चिन्ता बढेको छ ।

विशेष गरी मधेश, बागमती र गण्डकी प्रदेशमा ढिलो गरी मनसुन शुरू भएका कारण रोपाइँ गर्न ढिलो भएको मन्त्रालयका प्रवक्ता सबनम शिवाकोटीले बताइन् । मध्यतराईमा साउन मसान्तसम्म रोपाइँ हुने भएकाले यसवर्ष ९२ देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको उनको भनाइ छ । तर, कृषिसँग सरोकार राख्ने अभियन्ताहरु भने ढिलो रोपाइँले उत्पादन घटाउने तर्क गर्छन् ।

कृषि अभियन्ता तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीका अनुसार धानबाट राम्रो प्रतिफल लिन सामान्यतया बीउ राखेको १५ देखि २२ दिनभित्र रोपिसक्नुपर्छ । ‘बीउ राखेको २ महीना नाघिसकेको छ । त्यसैले अब रोपिने बीउबाट प्रतिफल घट्न सक्ने हुन्छ । ढिलो गरी रोप्दा २० प्रतिशतसम्म उत्पादकत्व घट्ने हुन्छ,’ उनले भने ।

ढिलो रोपिएको बीउबाट राम्रो उत्पादन नहुने हुँदा अब रोप्न बाँकी रहेको जमीनमा बरु वैकल्पिक बाली लगाउन मन्त्रालयले प्रोत्साहन गर्नु राम्रो हुने उनको सुझाव छ । नेपालमा करीब १५ लाख हेक्टर जमीनमा धानखेती हुन्छ । यसवर्ष हालसम्म १२ लाख ९१ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।

ढिलो रोपिएको बीउबाट राम्रो उत्पादन नहुने हुँदा रोप्न बाँकी जमीनमा वैकल्पिक बाली लगाउनु उपयुक्त

अन्न भण्डार मानिएको मधेश प्रदेशमा यसवर्ष सबैभन्दा कम रोपाइँ भएको छ । गतवर्ष यस अवधिसम्म मधेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ६८ प्रतिशतमात्रै सकिएको छ ।

अन्न भण्डारमै सबैभन्दा कम रोपाइँ भएपछि त्यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्न सक्ने देखिएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी रोपाइँ ढिलो भएको र धानको बीउ पनि बूढो भएको हिसाबले उत्पादनमा कमी आउने चिन्ता थपिएको बताउँछन् । उनका अनुसार अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएकाले उत्पादन घट्ने चिन्ता थपिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।