काठमाडौं । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।
मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु मूल्य आकाशिनुको मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ‘अफ सिजन’ चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयाँमा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ । त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गिताप्रसाद आचार्यले यतिखेर भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजन चलेकाले उत्पादन घट्न गई कालीमाटीमा आपूर्ति कम हुँदा मूल्य आकाशिएको बताए । यसबाहेक भारतमा गोलभेंडाको उत्पादन घटेर मूल्य बढेपछि नेपाली किसानले महँगोमा बेच्न भारततर्फ निर्यात गरिरहेका छन् । यसले पनि नेपाली बजारमा मागभन्दा कम आपूर्ति भई मूल्य बढेको उनले जानकारी दिए ।
सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६० देखि ६५ टन गोलभेंडा भित्रिन्छ । तर, अहिले ३५ देखि ४० टन मात्रै भित्रिने गरेको छ ।
केही अघिसम्म भारतले नेपाली गोलभेंडा आफ्नो देशमा आयात गर्न प्रतिबन्ध लगाएको थियो । अभाव भएसँगै भारतले प्रतिबन्ध फुकुवा गरेको छ । यसले गर्दा गोलभेंडा निर्यातको क्रम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २८ गतेसम्म नेपालले ३० मेट्रिक टन गोलभेंडा भारत निर्यात गरिसकेको छ । त्यसो त नेपालले भारतमा निकासी गरेभन्दा कैयौं गुना बढी गोलभेंडा आयात गर्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट १ करोड ४९ लाख रुपैयाँको १० लाख ९४ हजार किलो गोलभेंडा निर्यात भएको थियो । सोही अवधिमा ६१ करोड ८ लाख रुपैयाँको ४ करोड २१ लाख ५ हजार ६ सय किलो गोलभेंडा आयात भएको छ ।
काठमाडौंको बल्खु बजारमा गोलभेंडा आयात गर्दै आएका व्यवसायी नरेश श्रेष्ठले पनि गोलभेंडाको उत्पादनमा कमी र भारत निर्यातका कारण मूल्य बढेको बताए । उनका अनुसार यतिखेर नेपालमै उत्पादन भएको गोलभेंडा यहाँ रोक्न सके उपभोक्ताले केही हदसम्म मूल्यमा राहत पाउँछन् ।
‘हामीकहाँ नै गोलभेंडा अभाव भएका बेला भारतले प्रतिबन्ध फुकुवा गरिदियो, जसले गर्दा भारतीय बजारमा नेपाली गोलभेंडा निर्यात हुँदा हाम्रो बजारमा असर देखियो । भारतले हामीलाई बजार चाहिएको बेला प्रतिबन्ध लगाउँछ, हामीकहाँ नै अभाव भएको बेला प्रतिबन्ध खोल्छ । नेपाली किसान र बजारको बिडम्बना नै यही छ,’ उनले आर्थिक अभियानसँग भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।