विद्युतीय तार भूमिगत परियोजना: दोस्रोपटकको म्याद सकिँदै, ३० प्रतिशत काम अझै बँँकी 

Share News

काठमाडौं । शहरको सुन्दरता बढाउने तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति कम गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले शुरू गरेको बिजुलीका तार भूमिगत गर्ने काम दुईपटक म्याद थप्दा पनि ३० प्रतिशत बाँकी छ । 

प्राधिकरणले २०७५ चैतदेखि विद्युतीय तार भूमिगत गर्ने काम शुरू गरे पनि अधिकांश स्थानमा काम अधुरो छ । काम सम्पन्न भइसकेका ठाउँमा पनि बिजुली जोडिएको छैन । राजधानीका धेरैजसो सडकमा तार भूमिगत गर्ने काम केही अघिसम्म तीव्र गतिमा चलेको थियो । अहिले वर्षायाम भएकाले सबै काम ठप्प भएको छ । वर्षायाममा सडक खन्दा हिलो हुने, ट्राफिक अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै काम रोकिएको हो । असारदेखि रोकिएको काम असोजपछि मात्रै शुरू हुने प्राधिकरणले जानकारी दिएको छ ।

पहिलो चरणअन्तर्गतको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ । यस क्षेत्रमा तार भूमिगत गर्न भारतीय ठेकेदार कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले २०७५ चैत १ मा जिम्मा पाएको थियो । उसले तार भूमिगत गर्न ३० महीना पाएको थियो । उक्त कम्पनीले तोकिएको समयमा काम नसकेपछि १५ महीना थप भएको थियो । पहिलोपटक थपिएको म्यादभित्र पनि काम नसकिएपछि गत माघमा पुन: ८ महीना थप भएको छ । हाल काम ठप्प भएकाले बाँकी ३० प्रतिशत काम पनि उक्त समयमा सकिने छाँटकाँट देखिँदैन । यद्यपि दोस्रो चरणमा भूमिगत गर्न शुरू गरिएको कीर्तिपुर, कलंकी, थानकोटलगायत स्थानमा भने काम सकिएको प्राधिकरणको आयोजना व्यवस्थापन प्रमुख ताराप्रसाद प्रधानले जानकारी दिए । उनका अनुसार कीर्तिपुरमा तार भूमिगतको काम सम्पन्न भएसँगै परीक्षणको रूपमा केही घरमा भूमिगत तारबाट बिजुली जोडिसकिएको छ । बाँकी ठाउँमा पनि विस्तारै जोड्ने प्राधिकरणको भनाइ छ । 

दोस्रो चरणअन्तर्गतको कतिपय ठाउँमा तार भूमिगत गरेर केही घरमा भूमिगत तारबाट बिजुली जोडिसक्दा पनि पहिलो चरणको काम ७० प्रतिशत मात्र सकिएको छ । 

‘काम सम्पन्न भएका अन्य स्थान कालीमाटी, रानीबारी, सामाखुशीमा पनि करीब २ हजार घरमा भूमिगत तार जोडिसकिएको छ । अब त्यसमा विद्युत् प्रवाह गर्न मात्रै बाँकी छ । सबै ठाउँमा एकैपटक जोड्न सम्भव छैन । त्यसैले जसरी काम सम्पन्न हुँदै जान्छ त्यसैगरी विद्युत् जडान गरिनेछ,’ उनले आर्थिक अभियानसँग भने । दोस्रो चरणमा काम शुरू भएका जोरपाटी, साँखु, पेप्सीकोलालगायत ठाउँमा भने अझै काम सकिएको छैन । दोस्रो चरणको ठेक्का पनि भारतीय कम्पनी लार्सन एन्ड टर्बो लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले काम सम्पन्न गर्न ३० महीना पाएको छ । तेस्रो चरणको ठेक्का भारतीय कम्पनी टाटा इन्जिनीयरिङले पाएको छ । तेस्रो चरणको काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । विद्युत् तार भूमिगत गरिएसँगै टेलिफोन, केबल टेलिभिजन र अप्टिकल फाइबरका तार पनि भूमिगत गर्ने काम भइरहेको छ । प्राधिकरणले काठमाडौं उपत्यकाबाहिर पोखरा र चितवनमा समेत बिजुलीका तार भूमिगत गर्ने काम गरिरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।