काठमाडौं । सरकारले चैते धानको उत्पादन हुने क्षेत्रफल थप एक लाख हेक्टर विस्तार गर्ने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा थप १ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्दै चैते धानको खेती हुने क्षेत्रफल विस्तार गरिने भएको हो ।
बिहीवार पत्रकारहरूसँगको भेटघाटका क्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले चैते धान उत्पादन हुने क्षेत्रफलको विस्तारको तयारी भइरहेको बताएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक भए पनि त्यसको अझै पनि सदुपयोग हुन नसकी अधिकांश खेतबारीहरू बाँझै रहेकाले सिँचाइ सुविधा विस्तार गरी चैते धान फलाउने क्षेत्रफल बढाउने योजना रहेको बताए ।
हाल नेपालमा करीब १ लाख हेक्टर जमिनमा चैते धानको खेती गरिन्छ । सन् १९९४ मा सिँचाइ विभागले गरेको एक सर्वेक्षण अनुसार नेपालमा करीब २६ लाख हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्य १७ लाख हेक्टर जमिन मात्रै सिँचाइयोग्य छ भने बाँकी ९ लाख हेक्टर जमिनमा अझै पनि आकाशे पानीको भरमा खेती गरिन्छ । अब यसमध्ये खोलाको नजिकमा रहेका तर, सिँचाइ पुग्न नसकेको ५ लाख हेक्टर जमिनमा पनि निकट भविष्यमै नदी तथा खोलाको पानी लिफ्टिङ गरेर सिँचाइ सविधा पुर्याउने योजना रहेको मन्त्री बस्नेतले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।