भगवती हाइड्रोपावरको आईपीओ खरीदका लागि १७ गुणाभन्दा बढी आवेदन, आज अन्तिम दिन

Share News

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ निष्कासन गरेको हो ।

भदौ ७ गतेसम्म मागभन्दा १७ गुणा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ ८ गतेसम्म मात्र सर्वसाधारणमा आईपीओ विक्री खुला हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यीबाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने  केयर एनपि त्रीपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ ।

आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।