भिजन लुम्बिनी उर्जा कम्पनीको पहिलो चरणको आईपीओ आजदेखि

Share News

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।

स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता आईपीओ विक्री गर्न लागिएको हो ।

स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका स्थानीयमा छिटोमा असोज २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा असोज १७ गतेसम्म विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने असोज २ गतेसम्म मात्र आईपीओ विक्रीमा रहनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।