सोनापुर मिनरल्सको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

Share News

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । असोज १७ गतेभित्र मागबमोजिम आवेदन नपर्ने देखिएकाले कम्पनीले असोज १७ गते सूचना जारी गर्दै असोज २८ गतेसम्मको विक्री अवधि तय गरेको थियो ।

असोज १७ गतेभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले अवधि थप गरेको भोलिपल्टै विक्री बन्दको सूचना जारी गरेको हो । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको हो ।

आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । 

आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।

कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

यीबाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरी बाँकी आईपीओ सर्वसाधारणमा जारी गरिएको हो ।

सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।