काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसबारे जानकारी दिएको हो ।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको थियो ।
कम्पनीको आईपीओमा ११ लाख १३ हजार ८५५ जनाले कुल १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १ दशलमव ५१ गुणा बढी हो । यस आधारमा ९ लाख ७३ हजार २५४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । बाँकी १ लाख ४० हजार ६०१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । तीमध्ये स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको थियो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको थियो।
यीबाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । त्यसपछि बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको थियो ।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बहाल रहनेछ ।
यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।