काठमाडौं । नेपालले चामल माग गर्दै पत्र लेखेको करीब तीन महीनापछि भारतबाट सकारात्मक समाचार आएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधवार एक सूचना जारी गर्दै नेपालमा निर्यात गर्ने चामलको कोटा ९५ हजार मेट्रिक टन तोकेको जानकारी दिएको छ ।
भारतले नेपालसहित सात देशलाई गैरवास्मती चामल निर्यातको अनुमति दिएको उक्त सूचनामा उल्लेख छ । कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत निर्यात गरिने सूचनामा उल्लेख छ । साउन पहिलो साता १ लाख मेट्रिक टन चामल, ५० हजार मेट्रिक टन चिनी र ५ हजार मेट्रिक टन धान माग गर्दै नेपालले भारतलाई पत्र लेखेको थियो ।
यसले खाद्यान्न संकटको आशंका निवारण गर्नुका साथै चामलको मूल्य नियन्त्रणमा योगदान हुने अपेक्षा गरिएको छ ।
नेपालले माग गरेको करीब तीन महीनापछि भारत चामल दिन सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । भारतले धानचामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्य बढ्नुका साथै खाद्य असुरक्षाको जोखिम बढ्ने आशंका पैदा भएको थियो । प्रवक्ता ठाकुरका अनुसार अबको केही समयमै नेपालमा पनि नयाँ चामल आउने भएकाले अब डराउनु पर्दैन ।
बुधवारको सूचनाअनुसार भारतले नेपालसहित क्यामरुन, आइभोरी कोस्ट (कोटे डी आइभोर), गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई गरी १० लाख ३४ हजार ८ सय मेट्रिक टन चामल निर्यातको कोटा तोकेको हो । यसमध्ये फिलिपिन्सले सबैभन्दा बढी २ लाख ९५ हजार टन पाएको छ । दोस्रो नम्बरको क्यामरुनले १ लाख ९० हजार टन र तेस्रो मलेसियाले १ लाख ७० हजार टन पाउने भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।