संकटमा पोल्ट्री उद्योग : दुई सय ह्याचरी बन्द, चलेकाको उत्पादन पनि क्षमताको आधा मात्रै

Share News

काठमाडौं। विगतको कोरोना महामारीदेखि नै निरन्तर घाटामा रहेको समग्र नेपाली पोल्ट्री क्षेत्र यतिबेला संकटग्रस्त अवस्थामा पुगेको सम्बद्ध व्यवसायीको भनाइ छ । सरकारले मुलुकको एकमात्र आत्मनिर्भर उद्योग घोषणा गरेको व्यवसाय नै संकटग्रस्त अवस्थामा पुगेपछि दर्ता भएका ३ सय १३ मध्ये २ सय ह्याचरी उद्योग बन्द भएका छन् ।

नेपाल ह्याचरी उद्योग संघले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकासहित धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत करीब ३४ जिल्लामा रहेका २ सय ह्याचरी उद्योग निरन्तर घाटा सहन नसकेर बन्द भएका हुन् । संघका अनुसार अहिले १ सय १३ ह्याचरी मात्रै सञ्चालनमा छन् । चलेका ह्याचरीले पनि क्षमताको ५० प्रतिशतमात्रै उत्पादन गरिरहेको संघका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बजारमा कुखुराको खपत घटेर लागतभन्दा कम मूल्यमा चल्ला बेच्नुपर्ने अवस्थाले गर्दा अधिकांश ह्याचरी उद्योगीले प्यारेन्ट राख्ने आँट गर्न सकेनन् । फलस्वरूप उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।

बजारमा खपत घट्दा अहिले ५५ रुपैयाँ लागतको चल्ला ४५ रुपैयाँसम्मले बेच्नुपरेको छ । लागत मूल्य पनि उठाउन मुश्किल भएपछि अहिले चल्ला उत्पादनसमेत ह्वात्तै घटेको व्यवसायी बताउँछन् । सामान्य अवस्थामा नेपालका ह्याचरी उद्योगबाट प्रतिहप्ता ४५ देखि ५० लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले करीब १५ देखि २० लाख चल्ला मात्रै उत्पादन भइरहेको बताइएको छ । अहिले धमाधम ह्याचरी उद्योग बन्द हुने क्रम बढेको छ । चितवनको भरतपुर र मेघौलीमा करीब २ दशकअघि १२ करोड रुपैयाँ लगानीमा मोडर्न ह्याचरी र पार्क पोल्ट्री फार्म सञ्चालन गरेका प्रभु थापामगर यतिबेला दुईओटै फार्म बन्द गरेर बसेका छन् । बन्द गर्नुको मुख्य कारण कोरोना महामारीपछि बजारले गति लिन नसक्नु भएको उनी बताउँछन् । 

‘कोरोना महामारीका कारण खस्किएको पोल्ट्री व्यवसाय महामारीपश्चात् पनि निरन्तर ओरालो लागिरह्यो । बजारमा मासु खपत घट्दा ह्याचरीमा उत्पादन भएका चल्ला २५/३० रुपैयाँले पनि बेच्न नसक्ने अवस्था सृजना हुँदा समेत भारतीय कुखुरा अवैधानिक रूपमा भित्रिने क्रम रोकिएन । जसले गर्दा मेरो फार्ममा हरेक हप्ता उत्पादन भएका ४० हजार ब्रोइलर चल्ला र ३० हजार लेयर्स चल्ला बेच्नै मुश्किल हुन थाल्यो,’ थापाले आर्थिक अभियानसँग भने, ‘त्यसपछि करीब ९ महीनाअघि मैले दुईओटै फार्म पूर्ण रूपमा बन्द गरिदिएँ । घाटा सहेर व्यवसायमा टिकिरहनुभन्दा बेलैमा बाहिर निस्कनु बुद्धिमानी हो भन्ने लाग्यो ।’

अहिले चल्ला उत्पादन घटेपछि बजारमा ब्रोइलर कुखुराको मासु र अण्डाको माग बढ्नुपर्ने हो तर आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति नै घटेकाले मासु र अण्डा दुवैको खपत आस लाग्दो नरहेको ह्याचरी उद्योग संघका महासचिव बलराम सञ्जेल बताउँछन् । 

सामान्य अवस्थामा नेपालमा दैनिक साढे ८ लाख किलो ब्रोइलर कुखुराको मासु र ५० लाख गोटा अण्डा खपत हुने गरेको पोल्ट्री व्यवसायी महासंघको तथ्यांक छ । अहिले मासु खपत करीब ५० प्रतिशतले घटेको छ भने अण्डा खपत पनि प्रतिदिन २० लाख गोटामा झरेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ व्यक्तिलाई प्रतिवर्ष १४ किलो मासु आवश्यक पर्छ । अहिले उपभोक्ताको क्रयशक्ति घट्दा मासु खपत घट्दै गएको सञ्जेलको बुझाइ छ । सरकारी तथ्यांक हेर्दा पनि कोरोना महामारीपछि नेपालमा मासु उत्पादन घटेको देखिन्छ । आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार त्यस वर्ष नेपालमा मासु उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएकोमा आव २०७९/८० मा करीब साढे ३ लाख मेट्रिक टनमा सीमित भएको देखिन्छ ।

मासु खपत घट्दा करीब २ महीनाको अवधिमा ब्रोइलर मासुको मूल्य किलोमै १ सय ५० रुपैयाँसम्मले घटेको छ । अहिले ब्रोइलरको मासु ३ सय ५ रुपैयाँ किलोमा झरेको राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेपछि मासु खपत घटेको बिसीको भनाइ छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ४ प्रतिशत योगदान रहेको पोल्ट्री उद्योगमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । यो क्षेत्रले ५ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।