मङ्सिरमा धितोपत्र दोस्रो बजारमा थपियो १६ करोड ७८ लाखभन्दा बढी धितोपत्र

Share News

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मङ्सिरमा मात्र १६ करोड ७८ लाख ६३ हजार ८६५ कित्ता धितोपत्र थप भएको छ ।

दुई कम्पनीको आईपीओ, दुई कम्पनीको एफपीओ, दुई कम्पनीको बोनस शेयर, दुई कम्पनीको हकप्रद शेयर, एक कम्पनीको ऋणपत्र र एक योजनाको इकाईसहित उल्लेखित कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

माछापुच्छ्रे बैंकले गत मङ्सिर ५ गते १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सूचीकृत गराएको छ भने नाडेप लघुवित्तले मङ्सिर १५ गते ८ लाख ९ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत गराएको छ । 

मिर्मिरे र उन्नती सहकार्य लघुवित्तले पनि मङ्सिरमै एफपीओ सूचीकृत गराएका छन् । मिर्मिरे लघुवित्तले मङ्सिर ११ गते १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता र उन्नती सहकार्यले मङ्सिर १८ गते १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत गराएको हो ।

हिमालयन ८०–२० को १० करोड इकाई मङ्सिर २२ गते सूचीकृत भएको छ । सिजर्नी पावरले मङ्सिर २४ गते र अरुण काबेली पावरले मङ्सिर २५ गते हकप्रद शेयर सूचीकृत गराएका छन् । सिनर्जी पावरको ४० लाख ३२ हजार ८७५ कित्ता र अरुण काबेली पावरकोे १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

आईपीओ भने मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर २६ गते र त्रिशुली जलविद्युत कम्पनीले मङ्सिर ६ गते सूचीकृत गराएका हुन् । मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता र त्रिशुली जलविद्युतको १ करोड ८५ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । यीबाहेक कुमारी बैंकले १० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मङ्सिर २२ गते सूचीकृत भएको छ । कात्तिकमा ६ करोड ७० लाख ८७ हजार ९६ कित्ता धितोपत्र मात्र सूचीकृत भएको बजारमा मङ्सिरमा भने बढेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।