काठमाडौं। बजारमा दुग्ध पदार्थको खपत घट्दा धूलो दूध र बटरको मौज्दात बढेको छ । उत्पादित दुग्ध पदार्थ नबिकेर गोदाममा थुप्रिँदा किसानले दूधको पैसा भुक्तानी पाएका छैनन् । उत्पादित सामग्री बिग्रन सक्ने भन्दै उद्योगीहरु चिन्तित छन् । तर, कति मूल्य बराबरको कति परिमाण दुग्ध पदार्थ मौज्दात छ भन्ने वास्तविक तथ्यांक सरकार र उद्योगी दुवैसँग छैन ।
दुवै पक्षले उपलब्ध गराउने तथ्यांक गोलमटोल देखिएको छ । यकीन तथ्यांक उपलब्ध नहुनुमा सरकार र उद्योगी दुवै अर्कालाई दोष दिएर पन्छिन्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले गत असोजमा आर्थिक मन्दीका कारण दूध खपत घट्दा ६ अर्ब रुपैयाँको करीब ४ लाख मेट्रिक टन धूलो दूध र बटर मौज्दात रहेको जानकारी दिएको थियो । त्यसको १ महीना पनि नबित्दै बोर्डले ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात भएको बतायो । उद्योगीहरू भने अहिले ५ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताइरहेका छन् ।
मौज्दात दुग्ध पदार्थको वास्तविक तथ्यांक कति हो भन्ने यकीन विवरण सरकार र उद्योगी कसैसँग पनि नभएको सरोकारवालाले स्वीकार गरेका छन् । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले उद्योगीले नै यकीन तथ्यांक उपलब्ध नगराएकाले बोर्डसँग पनि यकीन तथ्यांक नभएको बताए ।
‘उद्यागीले हामीलाई जस्तो तथ्यांक दिन्छन् हामीले त्यही नै उपलब्ध गराउने हो । किनभने धूलो दूध र बटर उत्पादन बोर्डले गर्दैन त्यसैले उद्योगमा के कति मौज्दात छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । यसबीचमा मौज्दात वस्तु विक्री भएर तथ्यांक घट्बढ भएको पनि हुन सक्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘तर, उद्योगीले भने अनुसार तथ्यांकमा ठूलो हेरफेर हुने गरी दुग्ध पदार्थको विक्री बढेको छैन ।’
नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष सुमित केडियाले अहिले बजारमा दूधको खपत घटेकाले मौज्दात घट्नुभन्दा पनि बढेको हुन सक्ने बताए ।
उनका अनुसार अहिले निजी र सरकारी दुवै क्षेत्रका संस्थासँग करीब ५ अर्ब रुपैयाँ बराबरको धूलो दूध र बटर मौज्दात छ । ‘अहिले दूधको खपत १५ देखि २० प्रतिशतसम्मले घटेकाले मौज्दातको मात्रा अझै बढ्न सक्ने सम्भावना छ । समयमै यसको समाधान नखोज्ने हो भने हामीसँग भएको मौज्दात बिग्रने सम्भावना बढ्दै गएको छ,’ उनले भने ।
तथ्यांकमा एकरूपता नभएको सम्बन्धमा भने उनले यसअघिको तथ्यांकमा पनि समस्या नहुनुपर्ने बताए । सही तथ्यांक राख्न सरकारले पनि भूमिका खेल्नुपर्ने भएकाले यस विषयमा सरकार पनि गम्भीर हुनुपर्ने केडियाले बाए । उद्योगीको समन्वयमा बोर्डले केही दिनभित्रै मौज्दातको नयाँ तथ्यांक सार्वजनिक गर्ने तयारी भइरहेकाले अब आउने तथ्यांकमा त्रुटि नहुने उनले बताए । नेपालमा दैनिक करीब ६२ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसबाट ३१ लाख लिटर दैनिक बजारमा आउँछ । नेपालको डेरीमा निजीक्षेत्रको ४५ अर्ब रुपैयाँ लगानी छ । उनीहरूले वार्षिक २ अर्ब रुपैयाँ राजस्व तिर्ने गर्छन् । यस क्षेत्रमा करीब ६ लाख जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।