काठमाडौं। बजेट निर्माणका विषयमा गम्भीर प्रश्न उठिरहेका बेला सरकारले बजेट तालिका फेर्ने गरी ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६’ संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रिपतिसमक्ष पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक मञ्चहरूमा बजेटको ढर्रा नै हेरफेर गर्ने बताउँदै आउनुभएको थियो । बजेट भाषण गरेपछि त्यसका कमा र फुलस्टप समेत हेरफेर नहुने प्रणाली र अभ्यासलाई आगामी आर्थिक वर्ष २०८१/८२ बाट सच्याउने उहाँको घोषणाअनुसार राष्ट्रिय योजना आयोगले यसबारे घनीभूत रूपमा तयारी गरेको थियो ।
प्रधानमन्त्रीको घोषणालाई मूर्तरूप दिन आयोगले कार्ययोजनाको मस्यौदा तयार गरेको थियो । त्यसैलाई मन्त्रिपरिषद्मा पठाइएको थियो । मन्त्रिपरिषद्ले त्यसलाई अघि बढाएको छ । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद् अधिवेशन चालू नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ । सोहीअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन २०७६ मा विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिनअगाडि अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकता विवरण संघीय संसद्मा प्रस्तुत गर्ने उल्लेख छ । यसलाई अब ‘फागुन मसान्त’ भनी संशोधन गरिएको छ । सोहीअनुसार बजेटका अन्य तालिकासमेत परिमार्जन हुनेछन् । अर्थ मन्त्रालयका अनुसार अब स्रोत समिति बैठक माघ मसान्तभित्र बसी बजेटको सिलिङ तय गर्ने गरी समय तोकिएको छ । फागुन पहिलो साता योजना आयोगले मन्त्रालयहरूलाई मन्त्रालयगत बजेटको सिलिङ पठाइसक्नुपर्ने प्रावधानसमेत संशोधनमा समेटिएको छ ।
सोही ऐनको दफा १४ (२)लाई संशोधन गर्दै आर्थिक सर्वेक्षण संघीय संसद्मा पेश गर्ने मिति राजस्व र व्यय अनुमान पेश गर्नुभन्दा ‘७ दिन’ अगाडि भनी तोकिएको छ । अब आर्थिक सर्वेक्षण जेठ ८ मै संसद्मा पेश गर्नुपर्नेछ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ । चालू आवको बजेटमै फागुनमा बजेटका सिद्धान्त र प्राथमिकता ल्याइसक्ने व्यवस्था गर्ने घोषणा गरिएको थियो । त्यहीअनुसार ऐन संशोधन गर्न लागिएको हो । अहिले जेठ लागेसँगै संसद्ले दिएको समयमा राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । बजेटअगाडि आर्थिक सर्वेक्षणसहितका प्रकाशनहरू संसद्मा प्रस्तुत गरेर १५ जेठमा बजेट प्रस्तुत गर्ने गरी संविधानमै मिति तोकिएको छ ।
बजेट क्यालेन्डर परिमार्जन गरी नीति तथा कार्यक्रम र बजेटबीचको दूरी लामो बनाउन लागिएको छ । यसले नीति तथा कार्यक्रममाथि संसद्मा उठेका विषयलाई बजेटमा समावेश गर्न पर्याप्त समय रहने अपेक्षा गरिएको छ । अब अर्थमन्त्रीले वाचन गरेर सुनाएको बजेटमा संसद्ले चाहेका विषय थपघट गर्ने बाटो खुल्ने सरकारको दाबी छ । यो वर्ष पनि बजेट कार्यान्वयन विगतको जस्तै कमजोर छ । बजेट कार्यान्वयनप्रति प्रधानमन्त्री दाहाल सन्तुष्ट हुनुहुन्न । त्यसकारण पनि उहाँले अध्यादेशमार्फत बजेट तालिका संशोधन गराएर अघि बढ्न खोजेको सचिवालय स्रोतको भनाइ छ ।
त्यसो त चालू आव २०८०/८१ को बजेट वक्तव्यमै आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्मा पेश गर्ने व्यवस्था मिलाइने घोषणा भएको थियो । यसपछि सरकारी अधिकारीहरूले त्यससम्बन्धी गृहकार्य अघि बढाएका थिए । सरकारी अधिकारीका अनुसार अध्यादेश प्रमाणीकरण भएर आएपछि बजेट संशोधनको तालिका लागू हुनेछ । यसबाट आगामी वर्षदेखि बजेट कार्यान्वयन पद्धतिमा सुधार आउने अपेक्षा गरिएको छ ।
अध्यादेशमार्फत गरिएका मुख्य व्यवस्था
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता फागुनभित्रै संघीय संसद्मा
- स्रोत समिति बैठक माघ मसान्तभित्र बसेर बजेटको सिलिङ निर्धारण
- आर्थिक सर्वेक्षण जेठ ८ मै संसद्मा पेश गर्नुपर्ने प्रावधान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।