काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रवेश विन्दु खोकना हुने कि नहुने भन्ने विषयमा अझै ठोस निर्णय हुन सकेको छैन । १५ वर्षदेखि खोकनाबासीले द्रुतमार्गको प्रवेश विन्दु हुनु नहुने र अन्तै सार्नुपर्ने माग गरिरहेका छन् । तर, द्रुतमार्गको अन्तिम बिन्दु मानिएको निजगढका स्थानीय भने आयोजना छिटो बनोस् भनेर व्यग्र प्रतीक्षामा छन् ।
नेपाली सेनाले व्यवस्थापन गर्दै आएको द्रुतमार्गमा काम भने धमाधम भएको छ । खोकना बिन्दुको प्याकेजलाई छाडेर अन्य प्याकेजमा सेनाले काम गरिरहेको छ । खोकनावासी भने अझै द्रुतमार्गको शुरू बिन्दु सार्नुपर्ने पक्षमा छन् । ललितपुर महानगरपालिका वडा नं. २१ (खोकना) का वडाध्यक्ष रवीन्द्र महर्जन आयोजनालाई खोकनाबाट स्थानान्तरण गरेर अन्यत्र सार्नुपर्ने अडान यथावत् रहेको बताउँछन् ।
आफू द्रुतमार्गको विरोधी नभएको सुनाउँदै उनले उपयुक्त ठाउँमा सार्न माग गरेको बताए । ‘सांस्कृतिक सम्पदा, जनजीविका, पेशाजस्ता कारणले खोकनाबाट स्थानान्तरण गर्नुपर्छ,’ उनले सुनाए, ‘यो अहिलेको कुरा होइन, १५ वर्षदेखिको हो, सरकारले विकल्प खोज्नुपर्छ, विकासका नाममा विनाश र विस्थापित हुन भएन ।’ खोकनामै स्मार्ट सिटी, विद्युत्देखि बाहिरी चक्रपथ, द्रुतमार्गजस्ता धेरै आयोजना बन्ने भएकाले यसलाई सार्नुको विकल्प नभएको उनले बताए ।
अर्काे द्रुतमार्ग सञ्चालन भइसकेपछि आतेजाते सवारीहरू यहीँ पार्क गर्ने (जस्तै : नयाँ बसपार्क) जस्तो आयोजना द्रुतमार्ग नभएको भन्दै उनले यसका लागि लिंक अर्थात् यहाँबाट पास आउट र इनका लागि जोड्ने सडक पनि चाहिने बताए । ‘मुआब्जा १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ पाएका छन्, यो रकमले के हुन्छ ?, विस्थापितले यो रकमले के गर्ने ? श्रेष्ठले प्रश्न गरे ।
द्रुतमार्गको शुरू बिन्दु खोकनाको उपयुक्त विकल्प ललितपुरकै डुकुछाप र फर्सिडोल, दनुवार गाउँ हुने पनि उनको भनाइ छ ।
‘यहाँका सभासद्, सेनाको आयोजना प्रमुख, लाइन एजेन्सीका प्रतिनिधि, विद्युत्् प्राधिकरणका प्रतिनिधिबीच निर्णय नै भएको छ, स्थानान्तरण नै विकल्प हो । हाम्रो वडामा सार्वजनिक सुनुवाइ हुँदा जिरो पोइन्ट खोकना नहुने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
खोकना बिन्दुमा देखिएको समस्यामा सम्बन्धमा प्रतिक्रिया दिँदै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जिरो किलोमीटर फर्सिडोल, डुकुछापमा राख्ने कि भन्ने जस्ता अन्य उपायमा काम विज्ञबाट भइरहेको बताएका छन् । गत पुस ४ गते संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा द्रुतमार्गका विषयमा भएको छलफलका क्रममा उनले यो धारणा राखेका हुन् । ‘बाहिरी चक्रपथ, रेलमार्ग, बागमती कोरिडोरलगायत आयोजना बन्ने भनेसँगै खोकनावासी भयभीत भएका छन्,’ शर्माले भने, ‘खोकनाको समस्या समाधानार्थ रक्षामन्त्रीको अध्यक्षतामा काम भइरहेको छ । विज्ञ परार्शदाताको सहकार्यमा ६ ओटा विकल्पमा काम गरिएको छ ।’
खोकनाबासी द्रुतमार्ग सार्नुपर्ने पक्षमा उभिए पनि ललितपुरका अन्य र मकवानपुर र बारा जिल्लाका बासिन्दा भने आयोजना छिट्टै बनोस् भन्ने चाहन्छन् । ललितपुर महानगरपालिकास्थित फर्सिडोलवासी विश्वराम लामाको ललितपुर महानगरपालिका फर्सिडोल वडा नं. २२ मा द्रुतमार्ग बनाउने क्रममा एक रोपनी १५ आना जग्गा मासियो पनि । प्रतिआना २ लाख रुपैयाँ मुआब्जा लिएका उनले सोही मुआब्जाले १ रोपनी जग्गा किनेका छन् ।
‘हाम्रो लागि यो द्रुतमार्ग धेरै महत्त्वपूर्ण छ, यो छिट्टै बन्न आवश्यक छ,’ लामाले भने, ‘अहिले हार्डवेयरको खुद्रा पसल गरेको छु, द्रुतमार्ग बनाउँदा शीपअनुसार अरूले काम पाएका छन् मेशिन चलाउन पाए, मजदूर, ठेक्कापट्टाको काम गर्न पाएका छन् ।’ यहाँ समस्या नभएको भन्दै उनले यहाँका स्थानीयलाई फाइदै हुने बताए । ‘बसपार्क नै बनाए त झनै फाइदा हुन्छ,’ उनले थपे ।
सोही वडाको डड्डीफाँट बस्ने विक्रम तुलाधर पनि आयोजना प्रभावित हुन् । द्रुतमार्ग चाहिने भए पनि सरकारको स्पष्ट नीति नहुँदा र जनतालाई यसको फाइदाबारे बुझाउन नसक्दा विरोध आएको उनको भनाइ छ । ‘निर्माण सँगसँगै अन्य उद्योग, रोजगारीका कुराहरू पनि भएर सडक बनेपछि फाइदा हुन्छ भन्ने आशा हुन्थ्यो,’ उनले भने, ‘सरकारले विश्वास दिलाउन सके कसले विरोध गर्छ र ?।’
- खोकनाको जिरो किलोमीटर फर्सिडोल, डुकुछापमा राख्ने कि भन्नेजस्ता विकल्पमा विज्ञबाट काम भइरहेको छ ।
द्रुतमार्गका लागि भनेर सोही महानगरपालिका वडा नं. २१ खोकनावासी श्यामबोल महर्जनको एक रोपनी जग्गा आयोजनाले अधिग्रहण गरेको छ । ‘शुरूमै मुआब्जा लिएको हो, आनाको २ लाख ४० हजार रुपैयाँ लिएँ,’ महर्जनले भने, ‘त्यहीसँगै एक रोपनी जग्गा किनें र गाडी पनि किनें । पहिला मुआब्जा लिने धेरै थिए । गुठीको भने रोकिएको छ । सरकारसँग माग राख्नुपर्छ तर खाली द्रुतमार्ग चाहिँदैन भनेर हुँदैन ।’
खोकनामा विरोध भइरहँदा मकवानपुर र बारा जिल्लाका बासिन्दा भने द्रुतमार्ग छिट्टै बन्नुपर्ने धारणा राख्छन् । निजगढ नगरपालिका वडा नं. ८ बस्ने गौरीशंकर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहेका सुदर्शनप्रसाद कोइरालाले द्रुतमार्ग छिटो बन्नुपर्ने धारणा राखे । उनले द्रुतमार्गसँगै यहाँ बस्ती तीव्र वृद्धि भएको बताए । यद्यपि सेनाले सडक खन्दाखेरि पहिरो जाने, खोलो उचालिने र तटबन्धन गर्ने, गाउँ जोगाउने कामलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ ।
बकैया खोलाभन्दापूर्वको गाउँ (साविक निजगढ गाविसका ६ ओटा वडा)सँग द्रुतमार्ग जोडिएको छ । द्रुतमार्गले जंगल कटानी भए पनि तराईको लाइफलाइन बन्ने र विकासमा टेवा पुग्ने उनको आशा छ । ‘आयोजना बन्दा केही विनाश हुन्छ, जंगल कटानी पनि हुन्छ । रूख पनि रोपिँदै छ । तर, काटेको काठ वन कार्यालयले व्यवस्थापन नगर्दा कुहिएर खेर गएका छन्,’ कोइरालाले भने, ‘कामको शिलशिलामा विनाश हुन्छ नै । जति रूख काटिएका छन् त्यसको एक बराबर २५ ओटा रूख रोपिएकाले त्यसबाट क्षतिपूर्ति होला ।’
नेपालको गेट वीरगञ्जबाट सीधै द्रुतमार्ग हुँदै काठमाडौं पुग्दा धेरै सस्तोमा लैजान सकिन्छ भन्दै अहिलेको १२/१३ घण्टा हुँदै काठमाडौं पुग्ने मालवाहक सवारीदेखि यात्रु सवारी १ घण्टाभन्दा बढीमा पुग्ने भएकाले देशलाई लाभ हुने उनले धारणा राखे । तराईका सामान काठमाडौं पुर्याउन सजिलो र छिटो हुने भन्दै कोइरालाले थपे, ‘बकैया खोलामा ग्याविन गर्दै निर्माण अघि बढाउँदा पहिरो जाने क्रम रोकिन्छ ।’
निजगढ नगरपालिका वडा नं.४ की अञ्जु नेपाली द्रुतमार्गमा काम हुँदै गर्दा आवतजावतमा अहिले अप्ठ्यारो परेको बताउँछिन् । यहाँ पशुपालन गरेका स्थानीयलाई घासँदाउरामा पनि समस्या भएको उनको भनाइ छ । खोलाको पानी धमिलो हुँदा गाईबस्तु चरनमा लैजाँदा समस्या रहेको र पानी लेदो हुँदा नहुाइधुवाईमा समस्या परेको नेपालीले बताइन् । द्रुतमार्गको अन्तिम बिन्दु मानिने नगरपालिकाको कैलेनी, जसपाल, बकैयातिर बस्तीमा प्रभाव परेको छ ।
आयोजना बनाउँदा सकभर स्थानीयलाई रोजगारी दिने जस्ता कुरा सेनाले उल्लेख गर्दै आएको छ । त्यसअनुसार यहाँ ठेकेदारहरूले आफ्नो चिनजान, बाहिरका र स्थानीयलाई पनि काम दिँदै आएका छन् । ‘महिला कामदार भने १–२ जनामात्रै छन् । त्यसमा पनि एक जना महिला कामदार एक दिन ज्वरो आएर काममा जानु भएनछ, अनि कामबाट निकालेपछि हामी ८/१० जना महिला गएर भन्दा पनि काम दिइएको थिएन,’ उनले भनिन्, ‘तर, आयोजनाका सम्बन्धित अधिकारीलाई भनेपछि अहिले काम पाउनुभएको छ ।’
द्रुतमार्ग छिटो मार्ग, वीरगञ्जबाट नजिकै, १ घण्टामा निजगढबाट काठमाडौं, काठमाडौंमा तराईको अन्न सजिलै लैजान सकिने, यहाँ उत्पादन भएको तरकारी सजिलैसँग काठमाडौं पुग्ने र काठमाडौंबाट नजिकका जिल्लामा पनि आपूर्ति गर्न सजिलो हुने यहाँका बासिन्दाको भनाइ छ । बस्ती छलेर द्रुतमार्ग बनाउँदा सर्वसाधारणलाई हानि पुगेको छैन ।
मकवानपुरको हेटौंडा बस्ने कमल अधिकारी द्रुतमार्गको लेनडाँडामा बन्दै गरेको सुरुङमार्ग, पुलका लागि निर्माण सामग्री सवारीबाट ओसारपसार गर्छन् । लेनडाँडा साइटमा भेटिएका अधिकारीले भने, ‘शीपअनुसार काम पाएका छौं, मासिक ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछौ, आफ्नै ठाउँमा काम पाउँदा खुशी छौं ।’
यस्तै, निजगढ नगरपालिका, बागडोल–४ का दुर्गाबहादुर लोप्चन पनि घरछेउमै काम गर्न पाउँदा खुशी छन् । ‘द्रुतमार्गले हामी त खुशी छौं,’ उनले भने, ‘मङ्सिरमा १ वर्ष भयो यहाँ काम पाएको । मासिक पारिश्रमिक पाउँछौं कामका आधारमा ।’ नेपाली सेनाका अनुसार द्रुतमार्गमा कार्यरत कामदारमा १ हजार ४२३ नेपाली र ३५२ जना विदेशी छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।