काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको संख्या बढिरहेको छ । अनलाइन कारोबार हुन थालेपछि धितोपत्र बजारमा लगानीकर्ता बढेका हुन् । कुनै बेला नेपालमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लामो लाइन बसेर आवेदन दिनुपथ्र्यो । दोस्रो बजारबाट धितोपत्र किनबेच गर्नुपर्दा ब्रोकर कार्यालय गएर अर्डर दिनुपथ्र्यो । यसैबीच अनलाइन कारोबार शुरू भयो । त्यसैको नाम हो– ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ।
अनलाइन कारोबार हुन थालेपछि प्राथमिक बजारमा आवेदन दिन मेरो शेयर र दोस्रो बजारमा कारोबार गर्न टीएमएस लिनेको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।
बिहीवारसम्ममा टीएमएस आइडी संख्या १९ लाख २ हजार ४४७ पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । बजार बढेको समयमा दैनिक टीएमएस प्रयोग गर्ने डेढ लाख जति पुग्ने र घटेको बेला २५ देखि ३० हजार हुने उनी बताउँछन् । अचेल दैनिक ६० देखि ७० हजारले टीएमएस लग इन गर्ने गरेको पराजुली बताउँछन् ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता संख्या ६० लाखभन्दा बढी छ । शनिवारसम्म डिम्याट खाता संख्या ६० लाख ९४ हजार ९८२ पुगेको छ । त्यसै गरी मेरो शेयर खाता खोल्नेको संख्या ५१ लाख ४५ हजार ४२० पुगेको छ ।
के हो टीएमएस ?
ट्रेड म्यानेजमेन्ट सिस्टमको छोटकरी रूप टीएमएस हो । अनलाइन शेयर कारोबार गर्न यसको प्रयोग गरिन्छ । दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर किनबेच गर्न टीएमएस जरुरी हुन्छ । टीएमएस आईडी भएको लगानीकर्ताले सहजै इन्टरनेट भएको जुनसुकै ठाँउबाट शेयर किनबेच गर्न सक्छ । टीएमएस आउनुअघि लगानीकर्ताले शेयर खरीदविक्री गर्न ब्रोकर कार्यालयमै गएर आदेश दिनुपर्ने अवस्था थियो । टीएमएसले ब्रोकर कार्यायल धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ ।
टीएमएस कसरी लिने ?
टीएमएस आइडी लिन सबैभन्दा पहिले धितोपत्र दलाल (ब्रोकर) कार्यालयमा जानुपर्छ । नेपालमा अहिले ८४ ब्रोकर कम्पनी छन् । तीमध्ये ८२ ओटाले धितोपत्र दलाल (ब्रोकर) को काम गर्दै आएका छन् । दुईओटाले स्टक डिलरको काम गरिरहेका छन् । यी ब्रोकरले देशका विभिन्न १८३ स्थानबाट सेवा दिइरहेका छन् । यीमध्ये आफूलाई पायक पर्ने ब्रोकर कार्यालयमा गएर सेवा लिन सकिन्छ ।
तर, टीएमएस लिँदा राम्रो ब्रोकर चयन गर्नुपर्ने लगानीकर्ता बताउँछन् । राम्रो भन्नाले सेवा छिटोछरितो दिने, समयमा खरीद गरेको शेयर डिम्याट खातामा पठाइदिने र बेचेको शेयरको भुक्तानी समयैमा दिने ब्रोकर नै राम्रा हुने उनीहरूको भनाइ छ ।
टीएमएस सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा ग्राहक परिचय (केवाईसी) र टीएमएसका लागि छुट्टाछुट्टै फर्म भर्नुपर्छ । त्यसपछि सोही दिन वा भोलिपल्टसम्म इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टिएमएस लग इन गर्दा नै उल्लेख हुन्छ । यसरी युजर नेम र पासवर्ड आइसकेपछि आफूसँग भएको शेयर विक्री गर्न वा किन्न सकिन्छ । टीएमएसबाट शेयर किनबेच गर्दा अर्डर म्यानेजमेन्ट अप्सनमा क्लिक गरेर कम्पनीको नाम, किनबेच गर्न चाहेको शेयरको कित्ता र मूल्य लेखेर किन्ने वा बेच्ने आदेश दिन सकिन्छ । आदेश दिएको शेयर किनबेच भए/नभएको तत्कालै देख्न सकिन्छ । शेयरको मूल्य कति राख्न पाइन्छ भन्ने कुरा त्यहीँ उल्लेख भएको हुन्छ ।
टीएमएसबाट शेयर किन्नु पर्दा किन्न चाहेको शेयरको कुल मूल्यको २५ प्रतिशत रकम ब्रोकरकहाँ धितोका रूपमा राख्नुपर्ने हुन्छ । लगानीकर्ताले कनेक्ट आईपीएस वा ग्लोबल आइएमई, प्रभु, एनआईएमबी र सिद्धार्थ बैंकको खाताबाट ब्रोकर कार्यालयमा कोल्याटरल राख्न सक्छन् ।
टीएमएसबाट खरीद गरेको शेयर कित्ता ‘टी प्लस टू’ अर्थात् कारोबार दिन छाडेर बाँकी २ दिनभित्र क्रेताको खातामा आइसक्नुपर्ने व्यवस्था छ । शेयर विक्री गरेबापतको पैसा ३ दिनभित्र बैंक खातामा आइसक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।