चितवन। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्ष (आव)को ६ महीना अवधिमा सवा १५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि पुससम्ममा १५ करोड २६ लाख रुपैयाँ राजस्व असुली गरेको हो । सो अवधिमा २१ हजार ६११ ओटा सवारीसाधन कारबाहीमा परेका थिए ।
चालू आवको ६ महीनामा कार्यालयले सबैभन्दा बढी राजस्व संकलन पुसमा गरेको छ भने सबैभन्दा कम राजस्व संकलन कात्तिकमा भएको छ । पुसमा २८ लाख ९८ हजार ५०० रुपैयाँ र कात्तिकमा २० लाख २५ हजार ५०० संकलन भएको कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार साउनमा २४ लाख ३१ हजार ५०० रुपैयाँ, भदौमा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार र मङ्सिरमा २६ लाख ६६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले साउनमा ३ हजार ४६१ ओटा, भदौमा ३ हजार ५५३ ओटा, असोजमा ४ हजार १२९ ओटा, कात्तिकमा २ हजार ८४० ओटा, मङ्सिरमा ३ हजार ६२९ ओटा र पुसमा ४ हजार ७ ओटा सवारीसाधनलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सुरेश सुवेदीले गत आवमा भन्दा चालू आवमा कम अनुपातमा राजस्व संकलन भएको बताए । ‘यो वर्षदेखि टीभीआरएस (ट्राफिक भायलेन्स रेकर्ड सिष्टम) लागू भएपछि राजस्व कम संकलन भएको हो,’ उनले भने, ‘पहिले चेकिङमा बस्ने ट्राफिक प्रहरीले चालकको गल्ती अनुसार न्यूनतमदेखि अधिकतम जरीवाना गर्न सक्थे, अहिले पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम जरीवाना मात्र गरिन्छ ।’
गल्ती र कसुरअनुसार कारबाही गरिने भएकाले राजस्व पनि सोही अनुसार संकलन हुने उनको भनाइ छ । विगतका वर्षमा बैंकमै गएर जरीवाना तिर्नुपर्ने व्यवस्था भए पनि हाल अनलाइनमार्फत पनि जरीवाना शुल्क तिर्न सकिने व्यवस्था छ । यसले थप सहज र पारदर्शी हुने सुवेदीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।