चितवन। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम तीव्र रूपमा अघि बढाइएको छ । भरतपुरको मुख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकबाट लायन्सचोकसम्म तीव्र रूपमा काम अगाडि बढेको हो । तीन हप्ताअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समाधान भएसँगै कामले गति लिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम शुरू हुनुअघि नै धुलोमुक्त सडक निर्माण गरिसक्न निर्माण कम्पनीसँग सहमति भएको बताएकी छिन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माण छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न अनुरोध गरिएको दाहालको भनाइ छ ।
सडकको गोन्द्राङदेखि चौबीसकोठीसम्मको अन्तिम कालोपत्र गर्ने काम एक महीनाभित्र सक्नेगरी काम अघि बढाइएको निर्माण कम्पनी सगुन जेभीले बताएको छ । यस्तै नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रको काम भइसकेको छ । महानगरपालिका कार्यालयबाट लायन्सचोकसम्म खानेपानीको लाइन, दुईओटा कल्भर्ट र ओरालो सडक भएकाले काम गर्न कठिनाइ भएको थियो ।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको भए पनि मुख्य सडक, मुग्लिन–नारायणगढ सडक, नारायणगढ–पुलचोक सडक निर्माणको क्रममै रहेकाले भ्रमण वर्ष आगामी फागुन १८ गते शुरू गर्ने समय तोकिएको छ ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्ममा एक तहको कालोपत्र गरिसक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबीसकोठीसम्म अन्तिम कालोपत्र र रङरोगन गर्ने काम अघि बढेको छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्र्याक्ट म्यानेजर सुनिल ढुंगानाका अनुसार सडकको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम करीब अन्तिम चरणमा पुगेको हो ।
अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले बताएको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको पौडेलले जानकारी दिए । फागुनको पहिलो सातासम्ममा पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने विश्वास उनले व्यक्त गरे । पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्र्याक्ट म्यानेजर सुनिल ढुंगानाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम करीब अन्तिम चरणमा पुगेको हो । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।
यसैगरी लायन्सचोकदेखि रोटरी भवनसम्म सबग्रेड गर्ने कार्य शुरू भएको छ भने फागुन दोस्रो सातासम्ममा पहिलो चरणको कालोपत्र भइसक्ने म्यानेजर ढुंगानाले बताए । २०७७ माघदेखि शुरू भएको ६ दशमलव शून्य ८ किलोमिटर सडक निर्माणको म्याद गत मङ्सिर महीनामै सकिएको छ । निर्माण कम्पनी म्याद थप गर्ने प्रक्रियामा छ ।
उक्त सडकखण्ड स्तरोन्नतिको लागत रू. एक अर्ब ७६ करोड छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गर्ने योजना छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।