कृषिजन्य वस्तुको आयात २३ अर्बले घट्यो

Share News

काठमाडौं। कृषिजन्य वस्तुको आयात २३ अर्ब ३ करोड रुपैयाँले घटेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महीनाको तुलनामा चालू आर्थिक वर्ष (आव) को सोही अवधिमा कृषिजन्य वस्तुको आयात समग्रमा २३ अर्ब ३ करोड १८ लाख ४८ हजार रुपैयाँले घटेको देखिएको हो ।

धान, चामल, गहुँ, घिउ, तेल, चिनीलगायत खाद्य वस्तुको आयात घटेको छ भने चिया, कफी, आँटा फलफूल तथा नटलगायत वस्तुको आयात भने केही बढेको देखिन्छ । मुख्य कृषिजन्य वस्तुको आयात घट्दा खाद्यान्नको मूल्य समेत बढ्न सक्ने बताइएको छ । विगतमा विभिन्न कृषिजन्य उपजको निर्यातमा भारतले गरेको कडाइ र प्रतिबन्धका कारण आयात घटेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उनका अनुसार धान, चामल, गहुँ, प्याज, चिनीलगायत विभिन्न कृषि उपजको निकासीमा भारतले लगाएको प्रतिबन्धका कारण आयातमा असर परेको देखिएको हो । यसबाहेक नेपालतर्फको नाकामा रहेका क्वारेन्टाइन केन्द्रहरूमा पछिल्लो समय केही संरचनागत परिवर्तन हुँदा भन्सार जाँचपासमा समस्या हुन गएकाले पनि आयातमा असर परेको उनले बताए ।

अघिल्लो आवको ६ महीनामा ५२ अर्ब १० करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको घिउ, तेल आयात भएकोमा चालू आवको सोही अवधिमा २५ अर्ब ३४ करोड ९१ लाख ७२ हजार रुपैयाँको मात्रै आयात भएको छ । घिउ, तेलको आयात २६ अर्ब ७६ करोड २९ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो आवको यस अवधिमा मुख्य खाद्य वस्तु चामल, मकै र गहुँ २७ अर्ब ९१ करोड ८२ लाख २४ हजार रुपैयाँको आयात भएकोमा चालू आवको सोही अवधिमा २२ अर्ब २२ करोड ९४ लाख ९२ हजार रुपैयाँको मात्रै आयात भएको तथ्यांकले देखाएको छ । त्यसैगरी गत आवको पहिलो ६ महीनामा २ अर्ब ३१ करोड १९ लाख ८२ हजार रुपैयाँको चिनी आयात भएकोमा चालू आवको सोही अवधिमा १ अर्ब ९३ करोड २३ लाख ८७ हजार रुपैयाँ बराबरको मात्रै चिनी अयात भएको देखिन्छ ।

मुख्य कृषि उपजको आयात घट्दा ती वस्तुहरुको बजार मूल्यसमेत प्रभावित हुन सक्ने खड्काले बताए । हाम्रो बजार नीति निकै फितलो देखिन्छ । आयात घट्यो भन्ने समाचारहरुले भोलिपल्टदेखि नै बजारमा सामानको कृत्रिम अभाव हुनेदेखि मूल्य वृद्धि गर्ने खालका दृश्यहरू देखिन थाल्छन् । त्यसैले अहिले पनि त्यस्तो नहोला भन्न सकिन्न उनले आर्थिक अभियानसँग भने ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।