काठमाडौं। सिभिल सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभ लिमिटेडका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका छन् ।
आइतवार विशेष अदालतले उनीसहित पत्नी सिर्जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले तामाङसहित चार जनालाई दोषी ठहर गरेको हो । इच्छाराज, सिर्जनासहित उनीहरूका नातेदार केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि अदालतले दोषी ठहर गरेको छ । इच्छाराजकी दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनीहरूलाई हुने सजायको निर्णय भने माघ २१ मा बस्ने इजलाशले गर्नेछ । कानून व्यवसायीहरूले तामाङलाई ३ वर्षभन्दा बढी जेलसजाय हुनसक्ने अनुमान गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित पत्नी सिर्जना तथा दुई छोरी प्रतीक्षा र प्रतिष्ठालगायतविरुद्ध २०७९ भदौ १६ मा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरी नाफा अन्यत्र लगानी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा परेको थियो ।
इच्छाराज, सिर्जना सहित उनीहरूका नातेदार केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि अदालतले दोषी ठहर गरेको छ । इच्छाराजकी दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् ।
सहकारीमा जम्मा भएको रकम आफ्नै समूहका अरू कम्पनीमा लगानी गर्ने तर साँवा र ब्याज नतिर्दा सहकारी धराशयी भई बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अवस्था आएको थियो । सहकारीमा बचत गरेका झन्डै १४ सय जनाले अझै बचत फिर्ता नपाएको गुनासो गरिरहेका छन् ।
विभागले इच्छाराजसँग ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । त्यस्तै विभिन्न कम्पनीको शेयर पनि जफत गर्न माग गरिएको थियो । विभागले इच्छाराजकी पत्नी सिर्जनासँग १ अर्ब ३० करोड बिगो माग दाबी गरेको छ । मुद्दा दायर हुने बेलामा उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
त्यसैगरी छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर, अर्की छोरी प्रतिष्ठाको नाममा रहेको १ अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने दाबी पनि विभागले गरेको थियो । केशवराजबाट २६ करोड ६१ लाख बिगो, बैंकमा बचत रहेको रकम र सवारीसाधन जफत गर्नुपर्ने माग दाबी गरेको विभागले मीनाकुमारी श्रेष्ठसँग पनि बिगो र विभिन्न ठाउँमा रहेको जग्गा जफत हुनुपर्ने दाबी गरेको थियो ।
इच्छाराजले ठगी गरेको उजुरी परेपछि शुरूमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन आकर्षित हुने आधार भेटिएपछि विभागले अनुसन्धान थालेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।