काठमाडौं। मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको हिरो मोटोकर्पले चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सलाई नेपालका लागि आधिकारिक वितरक नियुक्त गरेको छ । नेपाललाई आफ्नो प्रमुख बजारको रूपमा हेर्दै आएको हिरो मोटोकर्पले सन् २०१४ देखि नै नेपालमा सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता उत्पादन विक्री गर्दै आएको बताइएको छ । सीजी मोटर्सले नवलपुरमा प्लान्ट स्थापना गरेर मोटरसाइकलको एसेम्बल समेत गर्ने कम्पनीद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ । मार्च महीनादेखि उत्पादन शुरू हुने प्लान्टको क्षमता वार्षिक ७५ हजार इकाई रहने जानकारी कम्पनीले दिएको छ ।
हिरो मोटोकर्पका ग्लोबल बिजनेश हेड सञ्जय भानले चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘चौधरी ग्रुपको विज्ञता, व्यापारिक ज्ञानले सहकार्यमा थप टेवा पुग्नेछ,’ उनले भने, ‘नेपाल हाम्रा लागि महत्त्वपूर्ण बजार हो, हाम्रा उत्कृष्ट उत्पादन, सेवा तथा अनुभवलाई निरन्तरता दिने प्रयास थप सुदृढ हुनेछ ।’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हिरो मोटोकर्पका उत्कृष्ट उत्पादन तथा सेवाको लाभ लिँदै नेपाली बजारको गतिशीलता बुझेर अगाडि बढ्ने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।