काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (इयु)की राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमवार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा आयोगले तयार गरिरहेको १६औं योजना, अति कम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र इयूको व्यापारमा पर्ने असर, बहुपक्षीय पोषण कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।
भेटमा आयोगका उपाध्यक्ष श्रेष्ठले १६औं योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको अवगत गराउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने जानकारी गराए । उपाध्यक्ष श्रेष्ठ र इयु राजदूत लोरेन्जोबीच नेपाल एलडीसीबाट स्तरोन्नति हुँदाका चुनौती, इयुसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा छलफल भएको छ । इयुले नेपालमा हरित अर्थतन्त्र र पूर्वाधारको लगानीमा देखिएको अन्तर हटाउन मद्दत गर्ने लोरेन्जोले बताइन् । यस्तै मानव पूँजीको रूपमा रहेको गुणस्तरीय शिक्षा र नेपालको सुशासन तथा संघीयता कार्यान्वयनको एजेन्डामा सहयोग एवं समर्थनको विषयलाई आफूहरूले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
इयु राजदूत लोरेन्जोले १६औं योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई इयुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा मध्यम आययुक्त विकासशील मुलुकतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तरराष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधाको निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।