काठमाडौं। चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा टे्रडमार्क दर्ता गर्नेको संख्या २ हजार ५३८ पुगेको छ । पुसमा मात्रै ४०० टे्रडमार्क दर्ता भएको उद्योग विभागको तथ्यांकले देखाउँछ ।
विभागले ट्रेडमार्क दिनु भनेको कुनै पनि व्यापार/व्यवसायले कानूनी अधिकार प्राप्त गर्नु हो । विभागको औद्योगिक सम्पत्ति शाखाका निर्देशक डिकबहादुर कार्कीले पछिल्लो समय टे्रडमार्कसम्बन्धी सचेनता बढेकाले दर्ता हुने संख्या बढेको बताए । ‘व्यवसायीले टे्रडमार्कमार्फत राज्यबाट संरक्षण खोजेको भन्ने अर्थ पनि लाग्छ,’ कार्कीले भने, ‘उद्योग, व्यवसायीहरू आफ्नो उत्पादन, सेवा तथा सम्पत्ति संरक्षणप्रति सचेत देखिएको हुन सक्छ ।’
विभागमा दर्ता भएका टे्रडमार्कमध्ये अधिकांश उद्योग, व्यवसायसँग सम्बद्ध रहेको कार्कीले बताए । यस्तो टे्रडमार्क कम्पनी तथा व्यवसायीका साथै गैरनाफामूलक संघ/संस्थाले पनि लिन सक्छन् । तर, दर्ता हुनेमध्ये धेरैजसो व्यापार, व्यवसायकै हुने उनको भनाइ छ । टे्रडमार्क लिनेको संख्या बढेको भन्दै उनले भने, ‘विगत वर्षहरूमा रोकिएका ६/७ हजार आवेदनमाथि छिटो काम कारबाही हुँदा पनि यो संख्या बढेको हो ।’ विगतमा एक/डेढ वर्ष नै ट्रेडमार्क दर्तामा लाग्ने गरेको भन्दै उनले अहिले ६ महीनामै यस्तो प्रक्रिया सम्पन्न गर्ने गरेको बताए ।
यस्तै चालू आवको ६ महीनासम्ममा विभागमा प्रस्तावित लगानी १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । यो स्वदेशी र विदेशी दुवै लगानीकर्ताका परियोजना स्वीकृत गर्दाको प्रस्तावित लगानी हो । यसमा विदेशी लगानी प्रस्ताव २२ अर्ब ३३ करोड रुपैयाँ छ ।
चालू आवको ६ महीनामा स्वदेशी र विदेशी गरेर कुल २११ ओटा उद्योग दर्ता भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो वर्षको अर्धवार्षिक अवधिसम्मको तथ्यांकमा पनि साना आकारका उद्योग दर्ताको संख्या बढी छ । साना उद्योग १६७ ओटा दर्ता भएका छन् । मझौला १६ र ठूला २८ ओटा उद्योग दर्ता भएका छन् । विभागले वार्षिक लक्ष्य भने ८० ओटा ठूला उद्योग, ८५ ओटा मझौला र साना २०० ओटा उद्योग दर्ता गर्ने राखेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।