काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट दलाल व्यवसायी (ब्रोकर) को नयाँ लाइसेन्स पाउने कम्पनीको संख्या ४२ पुगेको छ । तीमध्ये ३७ ले नेप्सेको सदस्यतासमेत प्राप्त गरेका छन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीलाई आशयपत्र दिएकामा ४२ लाई लाइसेन्स दिइसकेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।
पुस २० गतेअघि रमेशकुमार हमाल अध्यक्ष हुँदाकै बखत पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स दिइएको श्रेष्ठले बताए । उनका अनुसार सीमित कार्य गर्ने २० करोड चुक्ता पूँजी भएको धितोपत्र दलालको रूपमा सनराइज सेक्युरिटिज लिमिटेड, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एप्पल सेक्युरिटिज, प्रभु स्टक मार्केट क्यापिटल र ट्रेडमो सेक्युरिटिजलाई पछिल्लो समय बोर्डले लाइसेन्स दिएको हो ।
२८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको सिजी इन्भेस्टमेन्ट सेक्युरिटिज लिमिटेडले भने भौतिक संरचनामा केही सुधार गर्न आवश्यक देखिएकाले उसलाई लाइसेन्स दिन ढिलो भएको श्रेष्ठले बताए । यो कम्पनीको लाइसेन्स प्रक्रिया नयाँ अध्यक्ष नियुक्त भएपछि मात्र अघि बढ्ने उनले जानकारी दिए ।
बोर्डबाट लाइसेन्स पाएको कम्पनीले धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्यता लिनुपर्छ । नेप्सेले सदस्यता दिएपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले आवश्यक सम्झौता गरी मक ट्रेडिङ गर्दा कुनै अवरोध नदेखिए नेप्सेले गो लाइभको पत्र दिन्छ । सोही व्यवस्थाबमोजिम हालसम्म ३७ ब्रोकर कम्पनीलाई सदस्यता दिइसकेको नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले बताए ।
नयाँ लाइसेन्स पाएका ३७ ले धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सदस्यता लिइसकेका छन् । ३३ ओटाले दोस्रो बजारमा कारोबार शुरू गरिसकेका छन् ।
पछिल्लो समय नेप्सेले माघ ३ गतेको निर्णयअनुसार पूर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनी हिमालयन सेक्युरिटिज र सीमित कार्य गर्ने आरबिबि सेक्युरिटिज कम्पनीलाई सदस्यता दिएको दाहालको भनाइ छ । हिमालयन सेक्युरिटिजलाई ९६ नम्बर र आरबिबि सेक्युरिटिजलाई ९७ नम्बरको सदस्यता दिइएको छ । नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्ने ३७ कम्पनीमध्ये एक धितोपत्र व्यापारी, दुई पूर्ण कार्य गर्ने धितोपत्र दलाल र बाँकी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेको दाहालले जानकारी दिए । बोर्डबाट लाइसेन्स पाएको सनराइज सेक्युरिटिज र प्रभु स्टक मार्केटले समेत नेप्सेमा सदस्यताका लागि आवेदन दिइसकेको सहायक प्रबन्धक दाहाल बताउँछन् ।
उनका अनुसार नेप्सेबाट सदस्यता प्राप्त गरेका ३३ कम्पनीले दोस्रो बजारमा कारोबार शुरू गरिसकेका छन् । पछिल्लो समय नेप्सेबाट पुस ५ गते ९५ नम्बरको सदस्यता प्राप्त गरेको सीमित कार्य गर्ने धितोपत्र दलाल म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालि र माघ ३ गते नेप्सेबाट सदस्यता प्राप्त गर्ने हिमालयन र आरबिबिले दोस्रो बजारमा कारोबार शुरू गर्न बाँकी छ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ ।
बोर्डले आगामी ३ वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्था छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।