काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड, सनराइज ब्लूचिप फण्ड र सनराइज फोकस्ड इक्वीटी फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ मङ्सिर मसान्तसम्ममा ११ रुपैयाँ ६ पैसा रहेकोमा पुस मसान्तमा बढेर ११ रुपैयाँ ३७ पैसा पुगेको छ । त्यस्तै सनराइज ब्लूचिप फण्डको न्याभ पनि मङ्सिर मसान्तमा ९ रुपैयाँ ६८ पैसा रहेकोमा पुस मसान्तमा बढेर ९ रुपैयाँ ९४ पैसा पुगेको छ ।
सनराइज फोकस्ड फण्डको न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ ४ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ३३ पैसा पुगेको हो । यो फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ७५ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तमा भने यो फण्ड रू. १ करोड १२ लाख नोक्सानीमा थियो । पुस मसान्तमा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो । यो फण्डले पुस मसान्तमा सूचीकृत धितोपत्रमा रू. ६६ करोड १४ लाख लगानी गरेको छ ।
त्यस्तै सनराइज ब्लूचिप फण्डले पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८७ करोड ८५ लाख लगानी गरेको छ । सो अवधिमा यो फण्ड रू. १२ करोड २३ लाख नोक्सानीमा छ । पुस मसान्तमा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले खर्च बढेकाले नोक्सानीमा देखिएको हो ।
सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा भने मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डले रू. २ करोड ८१ लाख नाफा कमाएकोमा पुस मसान्तमा बढेर रू. ५ करोड ४८ लाख पुगेको हो । पुस महीनामा यस फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । पुस मसान्तसम्ममा यस फण्डले सूचीकृत धितोपत्रमा रू. ६१ करोड ११ लाख लगानी गरेको छ ।
सनराइज ब्लुचिप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।