काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले यस सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छ ।
छलफलमा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका जुम्ला, हुम्ला, सिमीकोट, ताल्चा, डोल्पालगायत गन्तव्यमा उडान शुरू गर्न प्राथमिकतासाथ काम गर्न भनेका छन् । निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । ‘यसका लागि समिति पनि गठन गरिएको छ,’ उनले भने, ‘हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौं ।’ छलफलमा उक्त समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । ‘कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौं,’ उनले भने । उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरूमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाए । ‘निगमले हाल भइरहेका विमान पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ,’ उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।