परिसंघ, सरकार र ६ उद्योगबीच सम्झौता  : १ हजार ६६५ जना रोजगार हुँदै

Share News

काठमाडौं। कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबीच सम्झौता भएको छ । माघ १४ गते भएको सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरूमा लिटमस इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोडर्न स्लिपर इन्डष्ट्रिज प्रालि र रन शुज इन्डष्ट्रिज प्रालि रहेका छन् । सम्झौताअनुसार यी उद्योगले एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरूलाई कम्तीमा १८ महीना रोजगारी दिनेछन् ।

प्रशिक्षार्थी कामदारको अधिकतम तीन महीनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्ने बताइएको छ । सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसर सृजना हुने अपेक्षा गरे । साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबै पक्ष क्रियाशील रहनुपर्नेमा उनले जोड दिए ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘चालू आर्थिक वर्षका लागि ९ ओटा उद्योगले २ हजार १०० प्रशिक्षार्थी लिन परिसंघमार्फत आवेदन दिएका थिए । यद्यपि पाठ्यक्रम तथा अन्य चुनौतीका कारण ६ ओटा उद्योगसँग मात्र सम्झौता हुन सक्यो ।’ आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । यसलाई सफल बनाउन परिसंघको भूमिका सदैव सकारात्मक रहने उनको भनाइ छ ।

यस्तै, परिसंघका उपाध्यक्ष रोहित गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरूलाई समेट्नुपर्ने बताए । ‘सीटीईभीटीबाट मान्यता प्राप्त पाठ्यक्रम भएमा यस कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्नेछ,’ उनले भने ।

केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति विकास गरी स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमका लागि सरोकारका पक्षहरूबीच त्रिपक्षीय सम्झौता हुनु ठूलो उपलब्धि रहेको उनको भनाइ थियो । यसलाई थप सफल बनाउन सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।