काठमाडौं। निजीक्षेत्रका ऊर्जा उत्पादकहरूले विद्युत् ऐन २०४९ सामान्य संशोधन गरी कार्यान्वयन गर्न आग्रह गरेका छन् । संसद्मा निर्णयार्थ पेश भएको ‘विद्युत् विधेयक २०८०’ बारे छलफल गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले आयोजना गरेको कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल सौर्य विद्युत् उत्पादक संघलगायत संघसंस्थामा आबद्ध व्यवसायीले त्यस्तो आग्रह गरेका हुन् ।
उनीहरू विद्युत् ऐन २०४९ मा सामान्य संशोधन गरी पूर्ण कार्यान्वयन गर्दा ऊर्जाक्षेत्रका अधिकांश समस्या समाधान हुने तर्क गरे ।
छलफलमा सहभागी अधिकांशले नयाँ विद्युत् विधेयकमाथि प्रश्न पनि उठाए । विद्युत्सम्बन्धी प्रचलित कानून संशोधन तथा एकीकरण गर्नु आवश्यक रहेको अवस्थामा सरकारले ल्याएको विधेयकले निजीक्षेत्रलाई अप्ठ्यारो पार्ने भन्दै उनीहरूले विधेयक संशोधन गर्नुपर्ने वा पुरानै ऐनमा नयाँ क्षेत्र थप गरेर लागू गर्नुपर्ने माग राखे ।
उनीहरूले उक्त विधेयक निजीक्षेत्रमैत्री नभएको पनि बताए । सरकारले निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा विधेयक ल्याएर नियन्त्रण गर्न खोजेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । इप्पानका उप–महासचिव प्रकाशकुमार दुलालले निजीक्षेत्रलाई बढावा दिने खालको विधेयक आउनुपर्नेमा निरुत्साहित हुने गरी आएको बताए । उनले तुलनात्मक रूपमा २०४९ नै निजीक्षेत्रमैत्री रहेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।