काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तरराष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलवार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूले १६औं योजनामा सहयोगका लागि आफूहरू सकारात्मक रहेको बताएका छन् ।
आयोगले आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरूसँग सुझाव लिइरहेको छ । सोही क्रममा बुधवार आयोगले अन्तरराष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो । नेपालस्थित अन्तरराष्ट्रिय विकास साझेदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्र संघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रूपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाम्डीले एलडीसीबाट सफल रूपमा स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताइन् । १६औं योजनामा एलडीसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नुपर्ने उनको सुझाव थियो । छलफलमा सहभागी अन्य विकास साझेदारले आफ्नो ‘कन्ट्री प्रोग्राम’लाई १६औं योजना र अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिको रणनीतिसँग तादात्म्य मिलाउनुपर्ने बताएका छन् ।
आयोगका उपाध्यक्ष श्रेष्ठले विकास साझेदारहरूबाट मननयोग्य सुझाव आएको बताए । नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै उनले आएका सुझावहरू १६औं योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोगले यसअघि बुधवार नै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरूसँग छलफल गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।