काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बुधवार आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरेको हो ।
स्थानीयमा भने माघ २५ गतेसम्म विक्री अवधि तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने पुस २५ गतेदेखि माघ १० गतेसम्म आईपीओ विक्री गरिएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
यस कम्पनीले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ विक्री गरेको हो । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्री गरिएको हो ।
विक्री प्रबन्धकका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरिएको आईपीओ खरीदका लागि ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये १४ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । मागभन्दा बढी आवेदन प्राप्त भएकाले गोलाप्रथाको माध्यमबाट ५ हजार ३४० जनामा ५० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । बुक बिल्डिङ विधिमार्फत विक्री गरेको आईपीओ बाँडफाँटमा न्यूनतम ५० कित्ताको नीति लागू भएको हो ।
यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।