पुनर्बीमा कम्पनीलाई २० अर्ब पूँजी पुर्‍याउन निर्देशन

Share News

काठमाडौं। बीमाक्षेत्रमा पूँजी वृद्धिको अभियान जारी रहेको अवस्थामा पुनर्बीमा कम्पनीमा पनि त्यो लागू हुने भएको छ । बीमाक्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले २० अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिने निर्णय गरेको हो । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बुधवार बसेको सञ्चालक समिति बैठकले पुनर्बीमा कम्पनीमा पनि पूँजी बढाउने निर्णय गरेको जानकारी दिए । बुधवार नै सम्बद्ध कम्पनीहरूलाई १ वर्षको समयसीमा दिएर पूँजी बढाउन निर्देशन दिइसकेको समेत पौडेलले जानकारी दिएका छन् । उनका अनुसार पुनर्बीमा कम्पनीले तोकेबमोजिमको पूँजी कायम गर्न २०८१ साल माघ मसान्तसम्मको समय दिइएको छ । तोकेबमोजिमको चुक्ता पूँजी कायम हुने गरी १५ दिनभित्र पूँजी वृद्धि योजना पेश गर्नसमेत प्राधिकरणले सम्बद्ध कम्पनीहरूलाई निर्देशन दिएको पौडेलले स्पष्ट पारेका छन् । प्राधिकरण प्रवक्ता पौडेलले प्रतिस्पर्धी बीमा बजारलाई थप व्यस्थित बनाउन पुनर्बीमा कम्पनीमा समेत पूँजी बढाउन आवश्यक देखिएकाले यो निर्णय गरिएको बताए ।

हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स लिमिटेड गरी दुईओटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल पुनर्बीमाको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ८०० रुपैयाँ रहेको छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब रुपैयाँ रहेको छ । नेपाल पुनर्बीमा कम्पनी २०७१ सालदेखि र हिमालयन रिइन्स्योरेन्स २०७८ सालदेखि सञ्चालनमा छ । 

एक वर्ष समय दिने बीमा प्राधिकरणको निर्णय 

नेपाल पुनर्बीमा कम्पनीले २०७६ साल चैतमै सर्वसाधारणलाई शेयर जारी गरेको थियो भने हिमालयन रिइन्स्योरेन्सले २०८० साल मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म विक्री गरेको थियो । बीमा प्राधिकरणले गरेको पूँजी वृद्धिको व्यवस्थाबमोजिम नेपाल पुनर्बीमा कम्पनीलाई ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार २०० रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सलाई १० अर्ब रुपैयाँ पूँजी थप गर्नुपर्नेछ ।

यी कम्पनीहरूले बोनस र हकप्रद शेयरमार्फत पूँजी बढाउन सक्नेछन् । भर्खरै सर्वसाधारणलाई शेयर विक्री गरेको हिमालय रिइन्स्योरेन्सले गत आर्थिक वर्ष (आव) को लाभांश हालसम्म पनि घोषणा गरेको छैन । गतवर्ष नेपाल रिइन्स्योरेन्सले भने ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले आव २०७६/७७ देखि नै लाभांश वितरण गर्दै आएको छ ।

हिमालयन रिइन्स्योरेन्स सञ्चित नाफामै रहेको देखिन्छ । गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । पछिल्लो समय सञ्चित नाफामै रहेका धेरै कम्पनीले नाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरिरहेको अवस्थामा यी कम्पनीले हकप्रद शेयरलाई बढी प्राथमिकता दिन सक्ने सम्भावना छ । १० अर्ब रुपैयाँसम्म पूँजी थपका लागि भने हकप्रद शेयरलाई मात्र प्राथमिकतामा राख्न उचित नहुने तर्क जानकारहरूको रहेको छ । प्राधिकरणले कम्पनीहरूले पेश गरेको पूँजी वृद्धि योजना स्वीकृत गरेमा मात्र कार्यान्वयनमा लैजान बाटो खुल्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।