कोलम्बो (श्रीलंका) । श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिङ्घेले देश अति खराब आर्थिक संकटबाट बाहिर आइरहेको बताएका छन् । स्वतन्त्रता दिवसका अवसरमा आइतवार उनले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को जमानत नियमनसम्बन्धी मितव्ययितापछि देश अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताएका हुन् ।
उनले भने, ‘चुनौतीहरू क्रमशः हट्नेछन्, अर्थव्यवस्था मजबुत हुनेछ ।’ उनले विगतका गल्तीबाट सिकेर त्यसको पुनरावृत्ति हुनबाट जोगिन आवश्यक रहेको बताए ।
श्रीलंकाले सन् २०२२ मा खराब आर्थिक संकटको सामना गरेको थियो । त्यतिबेला श्रीलंकाले विदेशी मुद्रा सञ्चितिको चरम अभाव भोगेको थियो । सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलङ्का विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो ।
आर्थिक सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा गरिएको महिनौंको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो ।
आईएमएफले गत वर्ष मार्चमा श्रीलङ्कालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो ।
सेन्ट्रल बैंक अफ श्रीलङ्काको तथ्याङ्कअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महीना मूल्यमा ६ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो ।
बैङ्कका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४ प्रतिशतको तुलनामा निकै बढी हो । यद्यपि, सन् २०२२ मा श्रीलङ्काको वित्तीय सङ्कटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो । अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौं हिस्साभन्दा पनि कम हो । रासस/सिन्ह्वा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।