राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन ४ र ५ गते

Share News

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आउँदो फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने भएको छ । सम्मेलनमा नेपालका ७७ ओटै जिल्लाका २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीको सहभागिता रहने महासंघले जानकारी दिएको छ ।

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गर्न लागिएको हो । यो सम्मेलन महासंघले पहिलोपटक आयोजना गर्न लागेको बताइएको छ । ‘नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समयदेखि सक्रिय रूपमा भाग लिरहेका छन्, तर महिला उद्यमीको योगदानको प्राय: कम मूल्यांकन गरिएको छ, श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढेमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा शून्य ३ प्रतिशतले वृद्धि गर्न सकिन्छ,’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘महिला उद्यमीहरूको सशक्तीकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्नेछ ।’

महिला उद्यमीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तीकरणम सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको महासंघले बताएको छ । सम्मेलनमा महिला उद्यमशीलता, नतीजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरूसँग छुट्टाछुट्टै छलफल गरिनेछ । दुईदिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।