काठमाडौं। पछिल्लो समय दैनिकजसोे बैंक, वित्तीय संस्थाले संस्थापक शेयर विक्रीका सूचना जारी गरिरहेका छन् । संस्थापक शेयरधनीले लाखौं कित्तासम्म शेयर विक्री खुला गरिरहेको देखिन्छ । बैंक, वित्तीय संस्थाले सूचनामा उल्लेख गरेको समयमा त्यस्ता शेयर विक्री भएको भने देखिँदैन । नेपाल राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयरधनीले पहिला विद्यमान संस्थापकलाई शेयर विक्री खुला गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीहरूले ३५ दिने सूचना जारी गर्छन् । उक्त समयमा विक्री नभए अन्य व्यक्तिले समेत खरीद गर्न मिल्ने गरी विक्री खुला गर्छन् । उक्त अवधिमा संस्थापकले नकिनेर सर्वसाधारणका लागि शेयर विक्रीको सूचना आउने गर्छ ।
पछिल्लो समय बैंक, वित्तीय संस्थाले धमाधम संस्थापक शेयर विक्रीको सूचना निकाल्न थालेपछि संस्थापक शेयर बेच्नेहरू किन बढे भनेर सामाजिक सञ्जालमा सर्वसाधारण लगानीकर्ताको गुनासो आउन थालेको छ ।
कतिपयले पैसाको अभाव टार्न र व्यवहार मिलाउन संस्थापक शेयर विक्री गर्दा यसको आपूर्ति बढेको एक ब्रोकरले बताए । अर्थतन्त्रमा मन्दी, चर्को ब्याजदरलगायत कारण रकम जुटाउन आफूसँग भएको संस्थापक शेयर विक्री गर्नुपर्ने बाध्यता आइलागेको हुन सक्ने जानकार बताउँछन् । अघिल्ला वर्षको तुलनामा पछिल्लो समय सूचीकृत कम्पनीमा गरिएको लगानीको प्रतिफल घट्दो छ । यस कारण पनि लगानी झिकेको हुन सक्ने उनीहरूको भनाइ छ ।
धितोपत्र विज्ञ अधिवक्ता ज्योति दाहाल प्रतिफल घटेकाले संस्थापक शेयरधनीले शेयर विक्री गरेको हुन सक्ने बताउँछन् । कतिपयलाई पैसा चाहिएकाले र लगानी अन्त सार्न पनि विक्री गरेकोे हुनसक्ने उनको अनुमान छ । संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले ३५ दिने सूचना निकालेको दाहाल बताउँछन् । ‘तर, उनीहरूसँग पहिल्यै संस्थापक शेयर हुन्छ । थप गर्न मन नलागेको पनि हुन सक्छ,’ दाहाल भन्छन्, ‘लिनैपर्ने बाध्यता पनि छैन । आउने/जाने प्रक्रिया चलिरहन्छ ।’
पुराना लगानीकर्ता डम्बरुवल्लभ घिमिरे पछिल्लो समय संस्थापक शेयर विक्रीको सूचना आउनुको प्रमुख कारण आर्थिक मन्दीलाई ठान्छन् । ‘धेरै ठाउँबाट ऋण लिएको हुन सक्छ वा घरायसी व्यवहारको लागि पनि पैसा आवश्यक परेको हुन सक्छ,’ उनले भने, ‘संस्थापक शेयरधनीले पाउने रिटर्न कम हुनाले पनि संस्थापक शेयर विक्री गर्नेको संख्या बढेको हो ।’ त्यसो त कतिपय संस्थापक शेयरधनीले ऋणलगायत ब्याज तिर्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि शेयर विक्री गरेको हुन सक्ने उनको अनुमान छ । पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जा बढ्दो छ । ‘यसले गर्दा संस्थापक शेयरधनीले प्रतिफल कम हुने अनुमान गरी शेयर विक्री गरी लगानी अन्तै सारेको हुन सक्छ,’ घिमिरेले भने ।
पछिल्लो १ हप्तामा सूचीकृत पाँच कम्पनीले १६ लाख ९७ हजार ३ सय ९५ कित्ता संस्थापक शेयर विक्रीको सूचना निकालेका छन् । कतिपय कम्पनीले कित्ता उल्लेख नगरी पनि संस्थापक शेयर विक्रीको सूचना निकालेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।